सिरहा प्रहरीले प्रभावशाली परिवारका हत्यारा मात्रै पक्राउ गर्दै !


धर्मेन्द्र पासवान/ सिरहा सिरहामा अपराध नियन्त्रण र न्याय सुनिश्चित गर्ने जिम्मेवारी पाएको जिल्ला प्रहरी प्रशासनमाथि फेरि एकपटक प्रश्न उठेको छ । पछिल्ला दिनमा प्रहरी पहुँचवालाको परिवारसँग सम्बन्धित हत्याका घटनामा सक्रिय देखिए पनि सामान्य जनताको मुद्दामा भने मौन बसिरहेको आरोप लाग्न थालेको छ ।

स्रोतका अनुसार लहान नगरपालिका २४ का पूर्व वडा अध्यक्ष कमल तथा नेकपा एमालेका नेताक पिताको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले छिटोछरितो अभियान सञ्चालन गरी संलग्न रहेको आशंकामा रहेका व्यक्तिहरूलाई पक्राउ गर्‍यो ।

घटनापछि जिल्ला प्रहरी कार्यालयले विशेष टोली खटाएर अनुसन्धान अघि बढाएको थियो । तर, १० वर्ष देखि कति धेरै अन्य साधारण नागरिकका हत्या र गम्भीर अपराधका घटनामा भने अनुसन्धान ढिलो गतिमा भइरहेको भन्दै पीडित परिवार र स्थानीयबासी गुनासो गरेका छन् ।

केहि दिन अगाडीमात्रै सिराहाको धनगढीमाई नगरपालिका ११, आमचौक बस्ने ८५ वर्षीय फनिलाल यादवको हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रकार सम्मेलन गरी पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-२, भवानीपुरका ३३ वर्षीय महेश चौधरी र सोही ठाउँका १९ वर्षीय प्रशान्तकुमार मण्डल रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए ।

गत साउन १४ मा आफ्नो घरमा चोरी हुन लागेपछि फनिलालले होहल्ला गर्न खोज्दा चौधरीले आफूसँग बोकेको खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

मृतक फनिलालमाथि टाउको, बायाँ कान र बायाँ आँखीभौँमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएर फरार भएको र अत्यधिक रक्तस्रावका कारणले मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका फनिलाललाई प्रहरीको टोलीले उपचार गर्न राउ स्मारक प्रादेशिक अस्पताल लहान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लहानले संयुक्त अनुसन्धान गर्दै निचोडमा पुगेको एसपी शर्माले बताए ।

सामान्य नागरिकका मुद्दा किन बेवास्ता ?

सिरहामा पछिल्लो वर्षहरूमा भएका दर्जनौँ हत्या र ज्यान मार्ने उद्योगका मुद्दामध्ये अधिकांश अझै फछ्र्यौट भएका छैन । कतिपय पीडित परिवारले मुद्दा अघि नबढेको गुनासो गर्दै आएका छन् । “हामी कहाँ न्याय पाउन वर्षौँ लाग्छ, तर पहुँचवालाको मुद्दामा प्रहरीले तुरुन्तै कारबाही गर्छ,” एक पीडित परिवारका सदस्यले गुनासो गर्दै भने ।

प्रहरीको जवाफ

यस विषयमा जिल्ला प्रहरी कार्यालयका सिरहाका एसपी शर्माले भने, “हामी सबै अपराधका घटनामा समान रूपमा अनुसन्धान गर्छौं । पहुँचवालाको मात्र होइन, प्रत्येक नागरिकको सुरक्षामा हामी प्रतिबद्ध छौं ।” तर, तथ्याङ्क र पीडितको गुनासोले भने फरक चित्र देखाउँछ ।

सार्वजनिक आक्रोश र माग

सामाजिक सञ्जाल र स्थानीय संचारमाध्यममा यो विषय व्यापक रूपमा छलफल भइरहेको छ । धेरैले प्रहरी प्रशासनलाई दुवै किसिमका मुद्दामा समान ध्यान दिन आग्रह गरेका छन् । स्थानीय अधिकारकर्मीहरूले पनि प्रहरीको कार्यशैली पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् ।

न्याय सबैका लागि बराबरी हो भन्ने सिद्धान्त केवल कागजमा सीमित नभएर व्यवहारमा पनि लागू होस् भन्ने जनताको चाहना हो ।

प्रकाशित : २०८२ श्रावण २९, बिहीबार २०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ