औरहीका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार्न कार्यदल गठन


सिरहा । सिरहाको औरही गाउँपालिकाको सामुदायिक विद्यालयहरुको पठन–पाठन (शैक्षिक अवस्था) सुधार्न ९ सदस्यीय कार्यदल गठन भएको छ ।

प्राध्यापक संघ नेपाल औरही गाउँपालिका समितिद्धारा शुक्रवार वडा नम्बर ५ स्थित श्री सुजमाविमा आयोजित वृह्त शैक्षिक अन्तरक्रिया कार्यक्रममा कार्यदल गठन गरिएको हो ।

शिक्षाविज्ञ श्यामनन्दन यादवको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा वडा ४ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादव, प्रधानाध्यापक उमेन्द्र प्रसाद यादव, शिक्षक विमल कुमार यादव महिला शिक्षक अंजु कुमारी यादव, शिक्षक दिनेश कुमार यादव, विद्यालय व्यवस्थापन समितिहरुको तर्फबाट हरि नारायण यादव, जेनजी औरहीका संयोजक सन्तोष कुमार यादव र जेनजीकै प्रतिनिधि दिपेन्द्र यादवलाई राखिएको छ ।

गाउँपालिका अध्यक्ष शिवजी यादवको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा पालिकाभरका विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षाविज्ञहरु, जनप्रतिनिधिहरु र जेनजीको प्रतिनिधिहरु सहभागी थिए ।

विद्यालयहरुमा देखिएको समस्या र समाधानका उपापयका बारेमा समूहगत छलफलपछि सबै समूहबाट प्रतिनिधिले विद्यालयको शैक्षिक अवस्था सुधार्न देखिएको समस्याहरु र समाधानका उपायहरु प्रस्तुत गरेका थिए । उनीहरुकै सल्लाह सुझाव अनुरुप कार्यदल गठन गरिएको छ ।

कार्यदलको बैठक शनिवार विहान ८ बजे डाकिएको छ । कार्यदलले विद्यालयको शैक्षिक अवस्था सुधार्न आवश्यक सल्लाह सुझाव पालिकालाई दिने र त्यसपछि समाधान गरिनेछ । गाउँपालिका अध्यक्ष यादवले सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

प्रकाशित : २०८२ कार्तिक २८, शुक्रबार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ