एनपीएल– आज चितवन र लुम्बिनी भिड्ने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टि–ट्वेन्टी क्रिकेटमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

खेल किर्तीपुरको टियु मैदानमा दिउसो ४ बजे सुरु हुनेछ । एनपिएल क्रिकेटको जारी सिजनमा लुम्बिनीको यो पहिलो खेल हो भने चितवनको दोस्रो खेल हो ।

पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । एनपिएल क्रिकेटमा हिजो सुदुरपश्चिम रोयल्सले काठमाडां गुर्खाजलाई २९ रनले हरायो ।

पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेर दुई अंक बटुलीसकेको चितवन उच्च मनोबलका साथ मैदानमा हुनेछ भने पहिलो खेलमा शानदार खेल प्रदर्शन गर्ने रणनीतिका साथ लुम्बिनी मैदान उत्रिने छ ।

चितवन राइनोज :

चितवन राइनोज मार्की खेलाडी कुशल मल्ल हुन् । उनले टिमको कप्तानी गर्नेछन् । टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् । नेपाली र विदेशी खेलाडीलाई चितवनले मिलाएर लिएको देखिन्छ ।

इङ्ल्यान्डका रवी बोपराले पहिलो खेलमा आफूलाई प्रमाणित गरिसकेका छन् भने सोहेल तनविरको प्रदर्शन लुम्बिनीका लागि भारी पर्नसक्छ। सैफ अली जैवसहित डेविड मलान र अल्पेस रामजानीले चितवनबाट खेल्दैछन् ।

चितवनमा नेपाली चर्चित नाम रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा, गौतम केसी छन् ।

लुम्बिनी लायन्स :

एनपीएल पहिलो संस्करणमा एउटा मात्र खेल जितेको लुम्बिनी यो सिजन शानदार सुरुवात गर्न चाहन्छ । राष्ट्रिय टोलीको कप्तान पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा पूर्व क्रिकेट शक्ति गौचनको विशेष प्रशिक्षण र साथ रहेको छ।

यो सिजन लुम्बिनीले अस्ट्रेलियाका ब्याटर डार्सी सटसँगै अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ । अन्य विदेशी खेलाडीमा थोमस ड्राका, नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान समेटिएका छन् ।

लुम्बिनीमा कप्तान पौडेलसँगै नेपाली खेलाडी सन्दीप जोरा, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथलगायत चर्चित नाम समेटिएका छन् ।

अहिलेसम्म काठमाडौँ, चितवन, विराटनगर र सुदूरपश्चिमले दुईदुई अंक जोडिसकेका छन् ।

प्रकाशित : २०८२ मंसिर ४, बिहीबार ०९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ