‘अर्को वर्ष भेटौँला’ भन्दै दुबई हिँडे जिम्मी निसम


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ खेल्न आएका न्यूजिल्याण्डका अलराउण्डर जिम्मी निसम दुबई लागेका छन् । पोखरा एभेन्जर्समा आबद्ध भएका निसम ४ खेल खेलेर ‘अर्को वर्ष भेटौँला’ भन्दै दुबई लागेका हुन् ।

पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाएका निसम आइसीसीको नियमका कारण जनकपुरबाट खेल्न पाएनन् । त्यसपछि उनलाई पोखराले एनपीएल सिजन २ का लागि अनुबन्ध गर्‍यो । पोखराबाट पनि उनले सबै खेल खेल्न पाएनन् । ४ खेल खेलेर निसम ‘अर्को वर्ष भेटौंला’ भन्दै फर्किए । उनी मंगलबारबाट सुरु हुने इन्टरनेशनल लिग (आइएल) टी २० खेल्न दुबई लागेका हुन् ।

निसमले पोखराबाट ४ खेलमा ठिकठाक प्रदर्शन गरे । उनले ब्याटिङमा एक अर्धशतकसहित ९९ रन बनाउँदा बलिङतर्फ ५ विकेट लिन सफल भए । पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ० रनमा आउट भएको जिसमले विकेट पनि लिन सकेनन् । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जिसमले शानदार प्रदर्शन गरे ।

उनले ब्याटिङतर्फ ४७ रन बनाए र बलिङतर्फ ३ विकेट हात पारे । तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ एक रन र बलिङमा एक विकेट लिए । चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध अविजित ५१ रनसँगै एक विकेट हात पारे । उनको प्रदर्शन ठिकठाक रहे पनि टोलीको प्रदर्शन सन्तोषजनक रहन सकेन । पोखराले ४ खेलमध्ये ३ खेलमा हार बेहोरेको छ ।

निसमसँगै लुम्बिनीमा अनुबन्ध भएका अफगानिस्तानका अलराउन्डर गुल्बदिन नैब पनि आइएल टी २० खेल्न दुबई लागेका छन् । लुम्बिनीबाट ५ खेल खेलेका गुल्बदिनले ९० रन बनाउनुका साथै ५ विकेट लिए । लुम्बिनीले ५ मध्ये २ खेलमा मात्रै जित निकालेको छ ।

प्रकाशित : २०८२ मंसिर १४, आईतवार २०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ