कान्छो मेयर बरबरियाको सम्पत्ति छानविन गर्न माग


जनकपुरधाम, १२ मंसिर । धनुषाको शहीदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरियाको सम्पत्ति छानविन गर्न नेपाली कांग्रेसका नेताहरुले माग गरेका छन् ।

नगर प्रमुख बरबरियाले विगत ८ महिनादेखि वृद्ध भत्ता वितरण नगरेको भन्दै नगरपालिकाको कार्यालयमा कांग्रेस नगर समिति र वृद्ध वृद्धाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि कांग्रेसका प्रत्यासी उम्मेदवार देवेन्द्र भरखेरले वृद्ध भत्ता रकम र विकास निर्माणका बजेटमा नगर प्रमुख बरबरियाले व्‍यापक भ्रष्टाचार गरेको भन्दै उनको सम्पत्ति छानविन गर्न सम्बन्धित निकायसँग माग गरे ।

उनले भने, ‘मेयर बरबरियाले ४ महिनाको भत्ता तत्काल वृद्ध वृद्धाहरूको खातामा पठाइदिने प्रतिबद्धता जनाएका थिए । तर पठाएनन् । बाध्य भएर आज प्रदर्शन गरेका छौं ।’ उनले वृद्ध भत्ता नपठाई मेयर बरबरिया भ्रमणका लागि खाडी मुलुक दुबई गएको बताए । बरबरिया जनतालाई पीडा दिएर मोज मस्तीमा लागेको उनको आरोप छ ।

विगत ८ महिनादेखि भत्ता नपाउँदा औषधोपचार गर्न पनि समस्या भएको वृद्ध वृद्धाहरूले गुनासो गरेका छन् । नगरपालिकामा पटकपटक धाए पनि प्रमुख बरबरियाले बेवास्ता गरेको वृद्ध उदगारी साहले दुस्खेसो पोखे । उनले भने, ‘हिँड्न गार्‍हो हुन्छ। जसोतसो कैयौंपटक नगरपालिका पुगे। तर, भोलिभोलि भन्दा ८ महिना बिते पनि भत्ता दिएन ।’

नगरपालिका कार्यालयमा घण्टौं मेयर बरबरियाविरूद्ध उनीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भ्रष्टाचार गर्न पाइँदैन, अविलम्ब वृद्ध भत्ता देऊ जस्ता नारा लगाएका छन् ।

प्रकाशित : २०७६ मंसिर १२, बिहीबार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ