जनकपुरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न, दोस्रो विवाह गर्न आउनेहरुलाई धपाइयो !


जनकपुरधाम, १७ मंसिर । दाइजो प्रथाको अन्त्य गर्ने उद्देश्यले जनकपुरधाममा सामूहिक आदर्श विवाहको आयोजना गरिएको छ । १ सय ८ जोडीको विवाह गर्ने तयारी गरिएपनि ३४ जोडी सहभागी भएका छन् ।

जनकपुरधाम उप–महानगरपालिका १३ स्थित मणी मण्डपमा सोमबार सामूहिक विवाहको आयोजना गरिएको छ । छुट्टाछुट्टै मण्डप तयार गरेर छुट्टाछुट्टै रुपमा विवाह गरिएको छ । जोडीहरुको स्वयंवर समेत गर्ने तयारी गरिएपनि मंच भत्किएपछि सिधैं वैवाहिक कार्यक्रम नै गरिएको थियो ।

विश्वहिन्दू परिषद भारतको तर्फबाट बेहुलाबेहुलीलाई ५÷५ सेट लुगा, भाडाकुँडा, समाजसेवी एवं सुन व्यवसायी पवन ठाकुर लगायतले मंगलसुत्र लगायतका सहयोग गरेका छन् ।

सामूहिक आदर्श विवाहमा सरिक भएका प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथालाई चुनौति दिने किसिमको यस्तो सामूहिक विवाहलाई निरन्तरता दिनुपर्ने बताए । ‘यसका लागि प्रदेश सरकार पनि सहयोग गर्न तयार छ’ उनले भने, “यो धेरै राम्रो कार्य हो ।”

मुख्यमन्त्री राउतले आदर्श विवाहमा सहभागी जोडीहरुलाई आफ्नो तर्फबाट सम्मान पत्र समेत प्रदान गरेका थिए ।

अर्काे विवाह गर्नेहरु पनि भएका थिए सकृय

बहुविवाह हुने भएपछि ५५ जोडी विवाह गराउन आएका थिए । तर, त्यसमध्ये ३४ जनाको छनौट गरी विवाह गराइएको छ । आयोजकले नाम, ठेगानासहित उमेर, पारिवारिक स्थितिसहितको उत्तर दिन भन्दै तयार पारिएको फर्म भर्ना लगाएको थियो ।

पहिला विवाह भइसकेका व्यक्तिले समेत यो फर्म भरेका रहेछन्’ सिताराम विवाह मणी मण्डप विकास समितिका उपाध्यक्ष रामअशिष दासले भने, “तर तत्कालै पत्ता लगाएपछि यस्ता व्यक्तिहरुको फर्म रद्द गर्दै विवाहबाट अलग पारिएको छ ।”

फर्म भरेकामध्येको उमेरको समेत पहिचान गर्दा कम उमेरका समेत पाइयो । ‘उमेर नपुगेका जोडीलाई बिबाहमा सहभागी गराउन रोकेका छौ’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले भने, “आयोजकहरुकोमा दर्ता भएका मध्येपनि केहि जोडी बिबाहका लागि अपरिपक्व देखिएपछि उनीहरुको विवाह रोकिएको छ ।”

विवाहस्थलमा बेहुला बेहुलीको परिवारका साथै विवाह हेर्नका लागि स्थानीयहरुको पनि भिंड लागेको थियो ।

प्रकाशित : २०७६ मंसिर १७, मंगलवार ०२:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ