धनुषा बमकाण्ड : नेताहरु दुःखी, प्रदेश २ का मन्त्रीहरु मौन


सन्तोष यादब/ जनकपुरधाम, २९ मंसिर । बम विस्फोटको घटनाले महेन्द्रनगर शोकमा डुबेको छ । मृतक रामेश्वर साहको घरमा दिनभर घुइचो लाग्यो । परिवारका सदस्यहरु घटनापछि बेहास् छन् । उनीहरु केहि बोल्न सकिरहेका छैन । बम विस्फोटपछि स्थानीय समेत त्रसित छन् ।

घटनापछि शनिवार दिउँसो मृतकका घर (घटनास्थल) नेकपा नेता तथा पूर्वमन्त्री रघुवीर महासेठ पुगे । उनले घटनाप्रति दुःख व्यक्त गरे । उनले घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले पीडित परिवारलाई भेटेर सान्तव्ना समेत दिए ।

बम विस्फोट भएलगत्तै नेताहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत समेत दुःख व्यक्त गरेका छन् । समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का साँसद उमाशंकर अरगरियाले समेत सामाजिक सञ्जालमा घटना दुःखद भएको भन्दै अपराधीलाई अविलम्ब कानूनको कठघरामा ल्याउनुपर्ने स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जानेगरी गराएको विस्फोटले अत्यन्त दुःखी छु ।’

https://www.youtube.com/watch?v=8C6-ywNbZgs

बम विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यानै गएपछि देशभरका मिडियाको ध्यान शनिवार त्यही घटनामा केन्द्रित रह्यो । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले समेत घटना दुःखद भएको भन्दै अपराधीलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता फेसबुकमार्फत जनाए । तर प्रदेश २ का मन्त्रीहरु घटनाप्रति दुःख व्यक्त समेत गरेका छैन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेत घटनाबारे केहि बोलेका छैन । उनको फेसबुक पेजबाट विभिन्न कार्यक्रमको स्टाटस र समाचार प्रायः शेयर भइरहन्छन् । तर बम विस्फोट घटनाबारे उनको पेजमा केहि उल्लेख छैन । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादब समेत बम विस्फोट घटना विषयमा केहि प्रतिक्रिया जनाएका छैन ।

https://www.youtube.com/watch?v=ztsd_NrVVDM&t=29s

यता, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले घटना दुःखद भएको भन्दै छानविन गरी अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने बताएका छन् । शनिवार घटनास्थल पुगेका उनले भने, ‘बम पड्केर तीन जनाको मृत्यु भएको घटनालाई सामान्य रुपमा लिन सकिदैन । यस्ता आततायी घटना गराउनेलाई छिटोभन्दा छिटो पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

प्रकाशित : २०७६ मंसिर २९, आईतवार ०२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ