प्रदेश २ मा भ्रमण वर्षको तयारी शून्य, महोत्तरी र रौटहटमा त समिति नै छैन


बारा, ६ पुस । ऐतिहासिक तथा पुरातात्त्विक स्थल सिमौनगढ, पर्सा निकुञ्ज, गढीमाई, माछा गाउँ, चुरियामाई र निजगढलाई देश र प्रदेशको मुख्य पर्यटकीयस्थलमा राखेर पर्यटक लोभ्याउने योजना बनाइए पनि भ्रमण वर्ष २०२० को लागि तयारी भने कतै देखिँदैन । तयारी बैठकसमेत हुन सकेको छैन् ।

प्रदेशको आठ जिल्लामध्ये महोत्तरी र रौतहटमा त सरोकार समिति नै बनेको छैन् । बारामा समिति बने पनि पर्यटन वर्ष अभियानको पुर्वतयारीका काम भने हुन सकेको छैन् । प्रदेश अन्तर्गतको ४० ठाउँलाई महत्वपूर्ण र मुख्य पर्यटकीय स्थल छानिएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक नेपाल भित्र्याइने लक्ष्य लिइएको छ । पर्यटकीय स्थलको रुपमा छनौटमा परेका स्थलमध्ये वन्यजन्तु, ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण छ ।

चुरेदेखि दसगजासम्म यस जिल्लाको ६ पर्यटकीय स्थान पर्यटन वर्षको मुख्य पर्यटकीय स्थानमा परेको छ । सिम्रौनगढ, गढीमाई, चुरियामाई, पर्सा राष्ट्रिय निकुञ्ज, निजगढ र माछा गाउँलाई मुख्य पर्यटकीय स्थान लक्षित गरी पर्यटक पुर्याउने प्रदेश समन्वय समितिले कार्ययोजना बनाएको छ । तर त्यहाँ तयारीको छनक छैन ।

त्यस ठाउँहरूमा गतिविधि बढाउने योजना कागजमै देखिएको छ । ‘माछा गाउँमा केही पनि भएको छैन,’ स्थानीय जंगबहादुर साह भने, ‘झिलीमिली बनाउने कुरा परै जाओस् ।’ माछा गाउँ यस्तो ठाउँ हो, जहाँ भन्डै ४ सय घरधुरीले त्यतिकै संख्याको पोखरी बनाएर व्यवसायिक माछा पालन गर्छन् । त्यसैले त्यो ठाउँलाई माछा गाउँ भनिन्छ । माछा गाउँका व्यवसायीले नै काठमाडौंलगायतका पहाडको सहरहरूमा जिउँदा माछा पुर्‍याएर जिउँदा माछाको व्यवसाय सुरु गरेका हुन् ।

प्रदेश समन्वय समितिले पर्सा निकुञ्जको बाराको अमलेखगन्जस्थित हात्तीसारमा प्रादेशिक महोत्सवको रूपमा ‘निकुञ्ज महोत्सव’ को समेत तयारी गरेको छ । धार्मिक र पर्या पर्यटनलाई कसरी जोड्ने उदेश्यले ‘निकुञ्ज महोत्सव’ गर्ने योजना बनाइएको प्रदेश समन्वय समितिका सचिवालय सदस्य मोहन शर्मा लामिछानेले बताए ।

‘ऐतिहासिक, पुरातात्विक सम्पदाहरूको संरक्षण, यहाँको पर्यटकीय स्थललाई राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा बजारीकरण र ‘ब्रान्डिङ’ कसरी गर्ने ? भन्ने अवधारणाअनुसार महोत्सव गर्दैछौ,’ उनले भने, ‘पर्यटन वर्ष भव्य मनाउने तयारी छ, त्यसको लागि आन्तरिक तयारीमा जुटेका छौ,’ पर्यटन वर्ष अभियानको जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका लामिछानेले भने, ‘कार्ययोजना बन्ने क्रममा छ ।’ महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले कार्ययोजनाअनुसार तयारी भइरहेको बताउँछन् । ‘पर्यटन वर्षलाई लक्षित गरेर गढीमाईमा विशेष तयारी गरिनेछ,’ उनले भने, ‘भर्खरै मेलाको माहौल कम भएको छ, अब पर्यटकलाई लक्षित गरेर तयारी गर्छौ ।’

अमलेखगन्जमा सबै पालिकाको ब्रोसर प्रदर्शन भएर त्यसमा उत्कृष्ट प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने पालिकालाई पुरस्कृत पनि गर्ने गरिने उनले बताए । यसबाहेक चेतनामूलक कार्यक्रमहरू भइरहेको उनले बताए । शर्माले यसो बताइरहँदा जिल्लाका एक पर्यटकीय नगरका प्रमुखले उत्सवझैं मनाइने भ्रमण वर्षको तयारीमा जनप्रतिनिधिहरूको चासो अभावले तयारी कसिलो हुन नसकेको औंल्याए ।

दसगजासित जोडिएको सिम्रौनगढमावर्षलाई लक्षित गरी साताको प्रत्येक शनिबार सरसफाइ गर्न थालिएको छ । यसैगरी ६ करोड ९४ लाखको खर्चमा प्रदेश सरकार मार्फत सिम्रौनगढको इशारा पोखरीलाई सौन्दर्यीकरण गर्ने कामको प्रदेश २ का मुख्यमन्त्रीबाट हालै शिलान्यास गरिएको छ ।

सिम्रौनगढमा पुरातात्त्विक महत्त्वका बस्तुहरू छन्–जुन खुला संग्रहालय झैं छ । यो क्षेत्र तिरहुत राज्यको राजधानी थियो । पछि मिथिलाको भयो । इतिहासविद् पर्यटक, पुरातत्त्वविद्को खोज अनुसन्धानका लागि यो ठाउँ महत्वपूर्ण हो । पौराणविककालका प्राचीन मुर्तिहरू यहाँ थुप्रै छन् । रानीवास र कंकालीमाई मन्दिर छ । देशकै सबभन्दा ठुला माननिर्मत ५२ बिघाको पोखरी छ।

विस्तारित पर्सा राष्ट्रिय निकुञ्ज आकर्षणको अर्को केन्द्र छ, जहाँ वन्यजन्तुको आवागमन सहजै देखिन्छ । पर्सा निकुञ्जकाअनुसार सयौं चित्तल, १८ देखि २० वटा बाघ, ४ देखि ६ वटा गैंडा, ६० भन्दा बढी हात्तीहरू निकुञ्जमा छन् । हात्तीसार पनि नजिकै छ, जहाँ हात्ती सफारी हुने गरेको छ ।

यसैगरी, चारकोसे हरिया जंगल, चुरेको फेंद र वारिपारि खोलासँगै रहेका निजगढ नगरपालिकाभित्र रहेका मोहरी, सहीद हिरालाल ‘भिलेज पार्क’ र त्यहाँको भ्यू टावर रमणीय स्थल छ । पर्यटकलाई लक्षित गरी त्यहाँ पर्यटकीय स्थल बनाउन थालिएको हो ।

निजगढ–काठमाडौं फास्टट्रयाक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र त्यही छ । यसैगरी चुरैसँगै हेटौंडा–पथलैया रामार्गको बीचमा चुरियामाई छ । जिल्लाको मध्यभागमा लाखौं श्रद्धालुहरूको आस्थाको केन्द्र गढीमाई बरियारमा छ । त्यहाँ पाँच वर्षमा एकपटक मेला लाग्छ । देश र विदेशका लाखौं श्रद्धालु ओइरिन्छन् ।

  • कान्तिपुर
https://www.youtube.com/watch?v=k7y2B3vImKM
https://www.youtube.com/watch?v=BuKLUxCtMz8
https://www.youtube.com/watch?v=IBtiZVHJa0M
प्रकाशित : २०७६ पुष ६, आईतवार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ