पशुपंक्षीलाई ढुवानी गर्दा क्रुर यातना नदिन सर्वोच्चको आदेश


काठमाडौं, ८ पुस । सर्वोच्च अदालतले पशुपक्षीलाई ढुवानी गर्दा क्रूर, निर्दयी व्यवहार र यातना नदिन निर्देशन दिएको छ ।

मानिसले पशुलाई जानेर वा नजानेर विभिन्न क्रुर किसिमको पीडा दिइरहेको भन्दै सर्वोच्चले त्यसरी पशुमाथि क्रुरता वा निर्दयी व्यवहार प्रदर्शन नगर्न निर्देशन दिएको हो । १३ साउन ०७५ मा अधिवक्ताद्वय पदमबहादुर श्रेष्ठ र षड्कोण श्रेष्ठले दायर गरेको रिटको फैसला गर्दै सर्वोच्चले पशुपक्षीप्रति निर्दयी व्यवहार प्रदर्शन नगर्न निर्देशन दिएको छ ।

न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजासले गरेको फैसलामा भनिएको छ, ‘पीडा वास्तवमा पीडा नै हुन्छ, यसलाई कानुनद्वारा निषेधित गरिएको छैन भन्दैमा पीडाप्रतिको कुनै सामाजिक वा नैतिक दायित्व नै हुँदैन भन्ने होइन । पीडा, क्रुरताबाट आहत हुनु प्राणी मात्रको प्राकृतिक स्वभाव हो । यही मान्यताका आधारमा पशु अधिकारलाई हेर्नुपर्छ । पशुलाई केवल उपभोग्य वस्तुका रूपमा मात्र हेर्नु हुँदैन ।’

सवारी साधनमा ढुवानी गर्दा पशुपक्षीलाई क्रुरतापूर्वक बाँध्ने र यातना दिने गरिएको सर्वोच्चले जनाएको छ । फैसलामा राजमार्गमा रहेका प्रहरी एकाइ र पशु क्वारेन्टाइन कार्यालयलाई पशुपक्षी ढुवानी भइरहेको साधनमा नियमित निरीक्षण र अनुगमन गर्न पनि निर्देशन दिएको नयाँ पत्रिकामा समाचार छ ।

२८ माघ ०७५ मा भएको फैसलाको पूर्णपाठ सर्वोच्चले सोमबार सार्वजनिक गरेको हो । फैसलामा सर्वोच्चले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ र सो ऐनको नियमावली, २०५६, पशु ढुवानी मापदण्ड, २०६४ को व्यवस्थाविपरीत पशुपक्षीप्रति निर्दयी, क्रुर एवं यातनाजन्य कार्य र व्यवहार भइरहेको पाइएमा तत्कालै कानुनी कारबाही गर्नु, गराउन निर्देशनात्मक आदेश समेत जारी गरेका छ ।

प्रकाशित : २०७६ पुष ८, मंगलवार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ