उखु किसानको पीडा : नेताहरु पनि उद्योगीकै पक्षमा


मलंगवा, १८ पुस । उखु किसानलाई भुक्तानी दिलाउनुपर्ने राजनीतिक दलका नेताहरु उद्योगीको पक्षमा लागेका घट्नाहरु उजागर हुन थालेकाछन् । किसानको पक्षमा केहि नबोल्ने नेताहरु भने उद्योगीलाई बचाउन र संरक्षण दिन लागिपरेका छन् ।

सर्लाहीको गोडैता नगरपालिका ६ स्थित महालक्ष्मी चिनी उद्योगले किसानको भुक्तानी नगरेको सन्दर्भमा बिहीबार किसान उद्योगमै जम्मा भए । आफ्नो रकम नदिएसम्म उद्योग संचालन हुन नदिने बताएपछि उद्योगी बिरेन्द्र कनोडिया भुक्तानी दिने आश्वासनसम्म दिए । कांग्रेसका प्रदेशसभा सांसद समेत रहेका कनोडियाले आफू किसानको रकम बेइमानी नगर्ने बताए ।

उनले यस्तो आश्वासन दिँदासम्म दुई राजनीतिक दलका नेताले उद्योगी कनोडियालाई सहयोग गरेको छर्लङ्ग भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेताले किसानभन्दा उद्योगीलाई संरक्षण दिइरहेको देखियो ।

किसानको भुक्तानी माग्दै गोडैता नगरपालिका नेतृत्वको टोलीले उद्योगमा बिहीबार लगाएको ताला नेकपा नेता शिबपूजन राय नेतृत्वको टोलीले फुटाएका छन् ।

उद्योगी कनोडियाले राजनीतिककर्मीको आडमा उद्योग संचालन गर्न खोजेको भन्दै किसानको नेतृत्व गर्दै गोडैता नगरपालिकाका प्रमुख देबेन्द्र यादवले उद्योगको कार्यालयमा ताला लगाए । उनले ताला लगाएको केहि बेरमै नेकपाका नेता रायले ताला फुटाएको मेयर यादवले बताए ।

‘किसानलाई सहयोग गर्नुभन्दा नेता रायले किसानलाई डुबाउने उद्योगीको दलाली गरेको देखियो’ मेयर यादवले भने, “यस बिषयमा हामी छलफल गरेर अघि बढ्छौं ।” किसानको पैसा दिएपनि÷नदिएपनि मिल हामी चलाउँछौं भन्दै ताला तोडेको बताउँदै मेयर यादवले बताए ।

नेकपा नेता शिबपूजनले भने मेयर यादव एक्लैले ताला लगाएको बताए । एक्लै ताला लगाएपनि पछि उद्योगी कनोडियाले सोमबार भुक्तानी दिने आश्वासनपछि किसानले नै ताला तोडेको पूर्व सांसद समेत रहेका उनले बताए ।

किसानलाई भुक्तानी गर्ने सन्दर्भमा र उद्योग संचालन गर्ने सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको थियो । छलफललाई सम्बोधन गर्दै उद्योगी कनोडियाले पनि शिबपूजनजीसँग आफ्नो सम्बन्ध राम्रो रहेको र त्यो राजनीतिक प्रभाव उद्योगमा पर्न नदिएको बताएका थिए ।

उक्त छलफललाई सम्बोधन गर्दै कांग्रेसका प्रतिनिधीसभा सांसद नागेन्द्र राय यादवले उद्योगीकै पक्षमा बोल्न खोजे ।

कांग्रेसबाट सांसद बनेका यादव शुरुमा किसानकै पक्षमा भाषण ठोके । पछि आफ्नो कुरालाई बंग्याएर उद्योगी कनोडियाले रकम दिने सहमति गर्नुपर्ने बताए । किसानका प्रतिनिधीलाई पनि राखेर रकम दिने सहमति गर्नुपर्ने उनले बताए । उनको यस्तो प्रतिकृयापछि किसान एकाएकी उनीबिरुद्व जाइलागेका थिए ।

मंच अगाडि बसेका किसानको समूह हल्ला गर्दै मंचतर्फ अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । उद्योगमा ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरीको टोलीलाई पहिलादेखि नै बोलाइएको थियो ।

उखु किसान संघर्ष समितिका संयोजक रामसोगारथ यादवले यसअघि धेरै पटक रकम दिने सहमति गरिसक्दा पनि नदिएको सन्दर्भमा पुनः सहमति गर्न नहुने बताए । उनले सांसद जस्तो व्यक्तिलाई उद्योगीभन्दा किसानको पक्षमा रहनुपर्ने बताए ।

यी दुई नेताको चर्तिकलाले उनीहरु किसानभन्दा उद्योगीलाई संरक्षण दिएको किसानहरु बताउन थालेका छन् ।

प्रकाशित : २०७६ पुष १८, शुक्रबार ०८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ