सप्तरी भन्सार : कर्मचारी अभावले लथालिङ्ग, भन्सार असुली घट्यो !


सप्तरी, २० पुस । सप्तरी भन्सार कार्यालयमा कर्मचारीको अभाव चरम देखिएको छ । कर्मचारी अभावका कारण राजस्व असुली प्रभावित भएको छ ।

सप्तरीमा एक मात्र भन्सार कार्यालय छ । जिल्लाको सिमावर्ती क्षेत्र तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्बर १ स्थित रहेको राजविराज भन्सार कार्यालयमा राजस्व असुली लक्ष्यभन्दा धेरै कम भएको छ ।

चालू आर्थिक बर्षमा रु १० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको यो कार्यालयले आर्थिक बर्षको ६ महिना बित्नै लाग्दा ३ करोड ५० लाख मात्रै संकलन गरिएको छ । कर्मचारी अभावमा नियमित गस्ती गर्न नसक्दा राजस्व घटेको भन्सार कार्यालयका भन्सार अधिकृत अभिषेक कण्ठ बताउँछन् ।

उनका अनुसार खुल्ला सिमाना रहेको र भारतबाट बिभिन्न नाका प्रयोग गरी सामान ल्याउने क्रम बढेकाले पनि राजस्वमा गिराबट आएको उनी बताउँछन् । उनले कर्मचारीको अभाव यस्तै रहे बाँकी समयमा पनि राजस्व असुली घट्न सक्ने बताए ।

भन्सार कार्यालयमा कुल २२ जना कर्मचारीहरुको दरबन्दी छ । तर कार्यर्त भने १६ जना मात्रै छन् । यो कार्यालयमा ४ जना नायव सुब्बाको दरबन्दी रहेकोमा एक जना मात्रै छन् । पछिल्लो अढाई वर्ष यता लेखापाल नै छैन् ।

कर्मचारी अभावमा राजस्व संकलन प्रभावित हुनुका साथै अन्य कामहरु पनि प्रभावित भइरहेको अवस्था छ । कर्मचारी र लेखापाल समेत नहुँदा झण्डै ४ वर्ष देखी लिलामी प्रक्रिया समेत रोकिएको अधिकृत कण्ठले बताए ।

यसबाहेक मुद्दा पनि प्रभावित भएको छ कार्यालयमा । कर्मचारी नहुँदा मुद्दाको चाप बढेको मुद्दा फाँटका नायब सुब्बा श्याम कुमार साहले बताए । ‘लेखापाल नहुँदा कार्यरत कर्मचारीहरुले तलब समेत खान पाएका छैनन्’ अधिकृत कण्ठले भने ।

कर्मचारी अभावको बिषयमा बारम्बार सम्बन्धित निकायमा जानकारी गराएपनि चासो नलिएको कण्ठको भनाई छ । भन्सार बिभागमा दरबन्दी बमोजिमको कर्मचारी पठाइदिन धेरै पटक आग्रह गरेको भएपनि चासो नलिएको उनले बताए ।

‘भन्सार विभागका महानिर्देशकलाई भेटेरै कर्मचारी अभावको समस्या सुनाएको छु’ उनले भने, “तर यो जानकारी गराउँदा समेत यहाँ कार्यरत रहेकामध्येबाट समेत दुई जनालाई सरुवाको पत्र पठाइदिएपछि कामकाज धेरै नै प्रभावित रहेको छ ।”

कर्मचारी अभावले सर्वसाधारण समेत पीडित बनिरहेको अवस्था छ । मुद्दा फैसला भइसक्दा समेत सर्वसाधारणले पाउनुपर्ने धरौटि फिर्ता पाउन सकेका छैनन् ।

६ महिना अगाडी चोरी पैठारी मुद्दामा परेका अटो चालक अमित मण्डलले आफ्नो मुद्दा फैसला भएपनि धरौटी फिर्ता पाउन नसकेको बताए । मुद्दा फैसला भएको दुई महिना बित्दा समेत पाउन नसकेको बताउँदै उनले भने, “नियमित धाइरहेको छु । तर पाउन सकेको छैन् ।”

राजविराज भन्सार कार्यालयको मातहतमा अन्य ६ वटा छोटी भन्सार कार्यालहरु रहेको छ । तर सबैमा कर्मचारी अभाव छ । कर्मचारी अभावकै कारण तीन वटा छोटी भन्सार मात्रै संचालनमा छ ।

छिन्नमस्ता गाउँपालिकाको गोविन्दपुर, डाक्नेश्वरी नगरपालिकाको पातो र बलान बिहुल गाउँपालिकाको बेल्हीका छोटी भन्सार कार्यालयहरु संचालनमा रहेका छन् भने हनुमाननगर बनैनिया र कोदरकट्टीका भन्सार कार्यालयहरु बन्द अवस्थामा छ ।

प्रकाशित : २०७६ पुष २०, आईतवार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ