राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ को चारवटै सिट जित्ने समाजवादी-काँग्रेस गठबन्धनको दावी


सन्तोष यादब/ बर्दिबास(महोत्तरी), २८ पुस । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ का चारै सिट जित्न नेपाली काँग्रेस र समाजवादी पार्टीले कसरत सुरु गरेका छन् ।

बर्दिबासको माइथानमा आइतवार साँझ दुवै पार्टीले संयुक्त रुपमा राष्ट्रिय सभा निर्वाचनका मतदाताहरुसित गरेको अन्तरकृयामा नेताहरुले चारवटै सिट जित्ने दावी गरे । गोष्ठीमा काँग्रेस र समाजवादी पार्टीका नेताहरुले मतदाताहरु आफ्नो पक्षमा रहेकाले चुनाव सहजै जित्ने दावी गरे ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले राजपा नेकपासँग चुनावी तालमेल अप्राकृतिक भएको टिप्पणी गरे । ‘नेकपासँग तालमेल गर्दा राजपामा असन्तुष्टि बढेको छ ’ उनले भने, धेरै नेता रुष्ट छन् ।‘केही नेताहरुले निहित स्वार्थका लागि अप्राकृतिक गठबन्धन गरेका छन्’ अध्यक्ष यादवले भने, संघीयता बिरोधीतत्वलाई प्रश्रय दिनु हुँदैन् । उनीहरुका उम्मेदवारले चुनावमा फसाएको भन्दै निराश बनेका छन् । तर हामी उत्साहित छौं । थोरै मेहनत गर्यौं भने हाम्रा चारै उम्मेदवारको जीत पक्का रहेको यादवले बताए ।

अध्यक्ष यादबले कम्यूनिष्टका नेताहरुलाई ‘कमाउनिष्ट’को संज्ञा दिए । ‘अब उनीहरु कम्यूनिष्ट रहेनन्’, उनले भने, ‘उनीहरुसँग कम्यूनिष्टको न विचार, न सिद्धान्त, न आदर्श छ । सब खतम भइसक्यो । कम्यूनिष्टको खोल मात्र ओढेको छ ।’

कार्यक्रममा काँग्रेस उपसभापति विमलेन्द्र निधीले प्रदेश २ को राष्ट्रियसभा निर्वाचनमा राष्ट्रको मात्र नभएर अन्तराष्ट्रिय समुदायको पनि चासो रहेकाले चुनाव जित्नैपर्ने बताए । उनले सबै इमान्दारिता पुर्वक लागेमा चारै सिट जित्ने दावी गरे ।

‘मतदाताको हिसावले हामी केहि पछाडी छौं ’ उनले भने, तर अंक गणित र राजनीतिक शास्त्रको गणित फरक कुरा हो । राजनीतिमा दुई जोड दुई पाँच पनि हुन्छ र तीन पनि हुन्छ । यदि तीन भयो भने हार्छ र पाँच भयो भने जित्छ ।’ उनले दुई जोड दुई ५ बनाउन सके निर्वाचन जित्ने भन्दै त्यसका लागि अन्य पार्टीका मतदातालाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

नेता निधीले पार्टीमा विभिन्न गुट रहेको र विवाद समेत रहेपनि राष्ट्रिय सभाको निर्वाचनमा सबै एकजुट रहेको विश्वास दिलाउँदै भने, हाम्रोमा केहि गुटहरु देखिएका छन्, तर चुनावमा सबै एकभएर लागेकोमा तपाइहरु विश्वास गर्नोस् । कार्यक्रममा काँग्रेसका सबै गुटका नेताहरुको उपस्थिति थियो ।

यस्तै समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष समेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छल, बल, कल र तन, मन, धनले निर्वाचन जित्न लाग्नुपर्ने बताए । निर्वाचन जित्न सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्न प्रदेश साँसद र जनप्रतिनिधिहरुसँग अपिल गरे ।

प्रदेश २ को निर्वाचन जित्न विभिन्न रणनीति बनाउन र तालिम गोष्ठी गर्न समाजवादीको तर्फबाट प्रदेश २ का अध्यक्ष समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादब र काँग्रेसको तर्फबाट नेता आनन्द ढुंगानालाई जिम्मेवारी सुम्पेको छ । गोष्ठीमा प्रदेश २ का काँग्रेस र समाजवादी पार्टीका प्रदेश साँसद तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

राष्ट्रियसभा निर्वाचनका लागि समाजवादी पार्टीले अनिरुद्रप्रसाद सिंह यादब र रामपृत पासवानलाई उम्मेदवार बनाएका छन् । काँग्रेसको तर्फबाट नगिना यादब र भोला पञ्जियार छन्् ।

प्रकाशित : २०७६ पुष २८, सोमबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ