धनुषाधाममा आजदेखि मकर मेला सुरु, भगवान रामले तोडेको धनुष यही खसेका थिए


धनुषा, १ माघ । धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा मकर मेला सुरु भएको छ । मेला भर्न यहाँ श्रद्धालुभक्तजनको भीड लागेको छ ।

माघको प्रत्येक आइतबार यहाँ मकर मेला लाग्छ । श्रद्धालु भक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाम मकर मेला भर्न आउने श्रद्धालुभक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ । मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ ।

त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।

‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । रामले उक्त धनुषमा वाण चलाउदा तीन टुक्रा भएको थियो ।

एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताउनुभयो ।

धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।

धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजार्चना गर्न वर्षेनी लाखौँंको संख्यामा स्वदेशी तथा विदेशी विशेषगरी भारतीय पर्यटक आउँछन् ।

यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ । स्थानीय उमाविअन्तर्गत मेला रहेकाले हरेक वर्ष मेला ठेक्का लाग्ने गरेको छ ।

प्रकाशित : २०७६ माघ १, बुधबार ०८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ