बलिदानी दिवस मनाउन मरिहत्तै गर्ने मधेसी नेताहरु नै प्रथम शहिद रमेशलाई विर्सिए


जयनाथ यादब / लहान, ५ माघ । मधेस आन्दोलनका क्रममा शहिद भएका रमेश महतोको सम्झनामा आज १३ औं बलिदानी दिवस मनाइदैछ ।

०६३ माघ ५ गते लहानमा भएको मधेस आन्दोलनका क्रममा सिरहाको मझौरा घर भई लहानमा अध्ययनरत विद्यार्थी महतो शहिद भएका थिए । उनको सम्झनामा हरेक वर्ष लहानमा बलिदानी दिवस मनाइन्छ । विगतका वर्षहरुमा मधेसवादी दलले लहानको पशुपति आदर्श उच्च माविमै बलिदानी दिवस मनाउन मरिहत्तै गर्थे । तर आज उही मधेसी नेताहरु शहिद महतोको बलिदानलाई विर्सेका छन् ।

तत्कालिन मधेसी जनअधिकार फोरमका लहान संयोजक थिए कृष्णबहादुर यादब र केन्द्रिय संयोजक उपेन्द्र यादब । लहानमा कृष्णबहादुरको नेतृत्वमा भएको आन्दोलनमा महतो शहिद भए । हाल उपेन्द्र यादब समाजवादी पार्टीका अध्यक्ष छन् । अध्यक्ष उपेन्द्र यादब यसवर्ष पनि सहिद महतोसहितको शालिमा माल्यार्पण गरेका छन् ।

लहानमा यसवर्ष राजपाले बलिदानी दिवसको अवसरमा प्रभातफेरी निकाल्ने र शहिद महतोको शालिकमा माल्र्यापण गर्ने कार्यक्रम छ । समाजबादी पार्टीका स्थानीय नेताहरु भने मात्र माल्र्यापण गर्ने बुझिएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा (शहिद महतोको गाउँ)मा बलिदानी दिवस मनाइदैछ ।

गत वर्ष लहानमा बलिदानी दिवस मनाएको प्रदेश २ सरकार भने यसवर्ष वीरगन्जमा मनाइदैछ । उक्त समारोहमा प्रदेश २ का सबै मन्त्री र नेताहरु उपस्थिति हुनेछन् । नेताहरु लहानको बलिदानलाई विर्सेर वीरगन्ज पुगेपछि लहानमा बलिदानी दिवस खल्लो बनेको छ । आन्दोलनकै बलमा मन्त्री बनेकाहरु आज शहिद महतोलाई विर्सेर वीरगन्ज पुग्नु विडम्बना भएको नेताहरुले बताएका छन् ।

राजपा नेता मनोज यादबले लहानमा प्रदेश सरकारले बलिदानी दिवस मनाउन छाडेर वीरगन्ज पुगेपछि दुःख लागेको बताए । उनले भने, ‘यो ऐतिहासिक भुमिमा बलिदानी दिवस मनाउनुपथ्र्यो । तर मन्त्रीहरु यो भुमिलाई विर्सेर ठूलो गल्ती गरेका छन् ।’ उनले मधेसीको माग हालसम्म पुरा नहुनुमा पनि नेताहरु नै दोषी रहेको बताउँछन् ।

सबै मधेसी दलका नेताहरु व्यक्तिगत स्वार्थ त्यागेर एकतावद्ध भई संघर्ष नगरेसम्म शहिदको सपना साकार नहुने पनि उनले बताए । मधेसी नेताहरुमा जुन घमण्ड छ, त्यसले उनीहरुलाई नै हानी हुने उनको तर्क छ । उनी भन्छन्, ‘सबै मधेसी नेता एक ठाउँमा उभिने दिनको पखाइमा मधेसी जनता छन् । यदि एक ठाउँमा उभिन नसके उनीहरुलाई मधेसी जनताले बहिष्कार गर्ने दिन पनि आउन सक्छ ।’

प्रकाशित : २०७६ माघ ५, आईतवार ०९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ