धनुषाका उमेश यादब मृत्युदण्डलाई जितेर साउदीबाट घर फर्किए, अभियन्ता रायको ठूलो सफलता


सन्तोष यादव/ धनुषा, ८ माघ । हत्या आरोप लागेपछि खाडी मुलुक साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका कमला नगरपालिका ३ माची (धनुषा)का उदेश यादव नेपाल फर्किन सफल भएका छन् ।

साउदीमा १३ वर्ष जेल जीवन विताएका उमेश आज विहान नेपाल आइपुगेका हुन् । मृत्युदण्डको सजायबाट जोगाउन लागिपरेका अभियन्ता सरोज रायसहितका व्यक्तिहरुले उमेशलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । अभियन्ताहरुले उमेशलाई सकुशल नेपाल फर्काउन विगत तीन बर्षदेखि लगातार अभियान चलाएका थिए ।

सन् २००६ मा पाकिस्तानी नागरिक मो। लतिफ बसिरको हत्या गरेको आरोप उमेशमाथि लागेको थियो। उमेशले आपसी विवादपछि भएको झडपमा बसिरको मृत्यु भएको स्वीकारेका थिए । तर अदालतले भने आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा बसिरलाई उमेशले रड हानेर हत्या गरेको जिकिर गरे ।

सन् २०१७ मार्च १५ मा उमेशलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनायो । जनरल कोर्टको उक्त फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावेदन अदालतमा रिट दायर गरे । पुनरावेदन अदालतले भने १५ अप्रिल २०१८ मा उमेशलाई मृत्यू दण्डको फैसला नै सुनाइदियो । साउदी अरेबियामा ‘हरापा’ सबभन्दा कडा कानूनमध्येको एक हो ।

उमेशले जघन्य अपराध गरेको भन्दै हरापा कानून बमोजिम सजाय सुनाइएको थियो । हरापाबाट सजाय सुनाइएपछि ब्लडमनीले पनि बच्‍न मुस्किल हुन्छ । अभियन्ता रायका अनुसार उमेश माफी पाएर नेपाल फर्किनुमा मृत्यु भएका पाकिस्तानी नागरिक बसिरको परिवार पनि सहयोग रहेको छ ।

बसिरका परिवारले पाकिस्तानी रकम ३० लाख ‘ब्लडमनी’ लिएर उमेशलाई माफी दिएका थिए। उक्त ३० लाख रुपैयाँ अभियन्ता रायले ‘उमेश बचाउ अभियान’को नाममा देशविदेशबाट संकलन गरेका थिए । अभियन्ता रायले दुई पटक पाकिस्तान पुगेर मृतक बसिरका परिवारसँग उमेशलाई दिइएको सजाय माफीका लागि आग्रह गरेका थिए ।

  • थाहा खबर
प्रकाशित : २०७६ माघ ८, बुधबार १५:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ