सिरहामा शिक्षकको बदमासी : गृहकार्य नगरेको भन्दै कुटेर विद्यार्थीको हात भाँचियो


मुकेश यादव/ सिरहा, १३ माघ । सिरहामा एक बालकको शिक्षकले नै हात भाँचिदिएका छन् । गृहकार्य नगरेको भन्दै मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकको त्यहीं विद्यालयमा कार्यरत शिक्षकले हात भाँचिदिएका हुन् ।

सिरहा नगरपालिका वडा नम्बर २ घर भई सोही विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्दै आएका १४ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो । ऋतिक कक्षा ६ मा अध्ययन गर्दै आएका छन् । नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै लट्टीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले जानकारी दिए ।

नेपाली बिषयमा घोकेर आउन भनेको र घोकेर आउन नसक्दा आफूलाई शिक्षक कार्कीले कुटपिट गरेको बालक ऋतिकले बताए । ‘तारा सरले घोकेर आउन भन्नुभएको थियो’ बालक ऋतिकले भने, “केहि घोक्न सकिएन । त्यसपछि उहाँले कुटनुभयो ।”

ऋतिक पछिल्लो ६ बर्षदेखि यहीं विद्यालयको होस्टेलमा रहेर पढ्दै आएका छन् । उनको हात भाँचिएपछि अभिभावकले उपचार गराउँदै आईतबार नै घर लगेका छन् । ऋतिकका पिता बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षकबिरुद्व प्रहरीमा जाहेरी दिने बताए । बसन्तले सोमबार नै प्रहरीमा शिक्षकबिरुद्व उजुरी दिने बताए ।

गृहकार्य नगरेकै कारण बालकलाई कुटेर हात भाँचिदिएको सम्बन्धमा उक्त पाठशालाका संस्थापक प्रिन्सिपल महेश कार्कीसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । बारम्बार उनको मोवाइलमा फोन गर्दा समेत उनले फोन उठाएनन् ।

यो पाठशालामा दुई बर्षअघि समेत एक जना बालकलाई कुटपिट गर्दै शिक्षकले हात भाँचिदिएको थियो । २०७४ सालमा यूूकेजीमा अध्ययन गरिरहेका बेला बालक दीपक साहलाई पाठशालाका शिक्षकले कुट्दा उनको हात भाँचिएको थियो ।

शिक्षकले कुटेर हात भाँचिदिएपछि दीपकका बुवा जिबछ साहले त्यहाँबाट आफ्ना छोरालाई निकालेर अर्काे विद्यालयमा अध्ययन गराइरहेका छन् । सिरहाकै औरही गाउँपालिका ४ कमलपुर निवासी जिबछले आफ्ना छोरालाई पाठशालाको छात्रावासमा राखेर अध्ययन गराइर्हेका थिए ।

बालमैत्री वातावरणमा अध्ययन गराउन सरकारले निर्देशिका बनाएपनि कतिपय विद्यालयमा बालबालिकालाई अझै पनि कुटेरै पढाउने गरिएको छ । जसका कारण बालबालिका घाइते भइरहेका समाचारहरु बारम्बार सार्वजनिक भइरहेका छन् ।

प्रकाशित : २०७६ माघ १३, सोमबार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ