प्रदेश २ को नाम ‘मध्य मधेस प्रदेश’ राख्नेमा सबै दल सहमत !


जनकपुरधाम, १४ माघ । ‘मध्य मधेस प्रदेश’ नाम राख्ने सहमती नजिक प्रदेश २ संसदिय विशेष समिति पुगेको छ । समितिको सोमवार बैठकमा मध्य मधेश प्रदेशमा सहमति नजिक पुगेको बताइएको छ ।

नेपाली काँग्रेसका पर्सा जिल्लाका साँसदहरुले मध्य मधेश प्रदेशको नाम प्रस्ताव गरेका हुन् । तर सो पार्टीको संसदीय दलबाट मिथिला–भोजपुरा नाम प्रस्ताव गरिएको हो । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धमा गठित संसदीय विशेष समितिको बैठकमा दलहरुले यस्तो सहमति जनाएका हुन् ।

सबै समस्याको समाधान दलीय सहमतिको आधारमा भए झैं प्रदेशको नामाकरण पनि दलीय सहमतिकै आधारमा गर्नुपर्नेमा हामी एकमत भएका छौं’ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता सत्यनारायण मण्डलले भने, ‘अर्काे बैठकमा दलका नेताहरुलाई समेत राखेर यसबारे छलफल गरिनेछ ।’

नेता मण्डलले राजनीतिक सहमतिको आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा आफूहरु सकारात्मक रहेको बताए । बैठकले राजनीतिक सहमति गर्नुपर्ने निष्कर्ष निकालेपछि अब अर्काे बैठक माघ १८ गतेका लागि निर्धारण गरिएको समितिका अध्यक्ष समेत रहेका प्रदेश २ का सभामुख सरोजकुमार यादवले जनाए । उक्त बैठकमा चार वटै दलका प्रदेशस्तरीय शिर्ष नेताहरुलाई सहभागी गराएर प्रदेशको नाम सम्बन्धमा छलफल गरिनेछ ।

दलका नेताहरुले आफ्नै प्रस्तावप्रति अडिग रहेका थिए । नेताहरुले आ–आफ्नै प्रस्तावलाई नामाकरण गर्नुपर्नेमा जोड् दिएपनि नामाकरणलाई चाँडै टुँग्याउनुपर्नेमा एकमत देखिएका छन् । सत्तासिन समाजवादी–राजपाले संयुक्त रुपमै प्रदेशको नाम ‘मधेश’ प्रस्ताव दर्ता गराएकोछ । प्रमुख प्रतिपक्षी नेकपाले जानकी र कांग्रेसलेमिथिला–भोजपुरा प्रदेशको नाम राख्नुपर्ने प्रस्ताव गरेकाछन् ।

बैठकमा दलगत रुपमा दर्ता भएको प्रस्तावमाथि छलफल भएको नेताहरुले बताए । ‘मधेश’, ‘जानकी’ र ‘मिथिला–भोजपुरा’ नाममा छलफल भएको राजपाका सचेतक परमेश्वर साहले जानकारी दिए । उनका अनुसार बैठकको शुरुमा नेताहरुले आफ्नै अडान राखेपनि चाँडो नामाकरण गर्ने सन्दर्भमा केहि लचिलो समेत देखिएको बताए । बैठकमा सहभागी नेकपा र कांग्रेसका सांसदले पनि राजनीतिक सहमति गरी चाँडै नामाकरण गर्नुपर्ने पक्षमा रहेको उनले बताए ।

‘राजधानीमा सहमति जुटिसकेकाले नाममापनि सबै दल अडान छाडेर सहमतिमा पुग्न लचिलो भएकोछ’उनले भने, हाल दर्ता रहेकै चारवटा नाम मध्येबाट हुनेछ । प्रदेशको नामाकरणका लागि दुई तिहाई बहुमत आवश्यक भएपनि कुनैपनि दलसँग आवश्यक दुई तिहाई बहुमत छैन् ।

कुल १ सय ७ जना सांसद रहेको प्रदेश २ मा नेकपासँग ३२, समाजवादीसँग ३०, राजपासँग २५, नेपाली कांग्रेससँग १९ र संघीय समाजवादीसँग १ सांसद छन् । प्रदेशको नामाकरणका लागि सत्तारुढ दल समाजावदी, राजपा गठबन्धनका लागि नेकपाको समर्थन आवश्यक छ ।

प्रकाशित : २०७६ माघ १४, मंगलवार ०८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ