गठबन्धन तोड्नेलाई पाप लाग्छ : अध्यक्ष यादव


सप्तरी, १५ माघ । अहिले प्रदेश २ को सत्ता समीकरण फेरवदल हुने चर्चा छ । राष्ट्रिय जनता पार्टी (राजपा) र नेकपा मिलेर प्रदेशमा सरकार बनाउने चर्चा चलिरहँदा राजपाका युवा नेताहरुले गठबन्धन तोड्न नहुनेमा जोड् दिएका छन् ।

राजपा निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ‘केसी’ बर्तमान गठबन्धन तोड्ने अधिकार कसैलाई नभएको बताउँछन् । ‘न त राजपाले गठबन्धनबाट अलग हुन सक्छ न त समाजवादी नै’ अध्यक्ष यादवले भने, “जनताले नै यी दुबै दललाई सरकार संचालनको अनुमति दिएको छ ।”

सँगै चुनाव लडेका समाजवादी र राजपालाई जनताले नै सरकार संचालन गर्न मत दिएको बताउँदै अध्यक्ष यादवले कसैले सरकार छाडेमा जनताको मतको अपमान हुने बताए ।

मधेशी जनताको लामो आन्दोलन र शहीदहरुको बलिदानीको आधारमा बनेको प्रदेश सरकारलाई जनताको जनादेश अनुसार पाँच बर्ष नै संचालन गर्नुपर्ने उनको भनाई छ ।

‘प्रदेश सरकारभित्र पनि केहि कमी कमजोरी छ’ उनले भने, “ती कमजोरीलाई सच्चयाउँदै गठबन्धनलाई कायम राख्नु अहिलेको माग हो ।”

प्रदेशका जनता यही सरकार रहीरहोस् भन्ने अपेक्षामा रहेको बताउँदै उनले यो अपेक्षामाथि तुषारापात गर्न नहुने बताए । ‘जसले यस्तो गर्छ उसलाई पाप लाग्छ’ अध्यक्ष यादवले भने, “शहीदको आत्माले समेत माफी दिदैनन् ।”

प्रदेश सरकारको काम केहि सुस्त भएको बताउँदै उनले तिबता दिनुपर्नेमा जोड् दिए । ‘यसका लागि मुख्यमन्त्री, मन्त्रीहरुलाई गम्भीर बन्नु जरुरी छ’ उनले भने, “अन्यथा कसैको भलो हुँदैन् ।”

प्रकाशित : २०७६ माघ १५, बुधबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ