कोरोना भाइरसको त्रास : सामान्य मुद्दाका कैदीलाई रिहा गर्ने तयारी


काठमाडौं : कोरोना भाइरसको संक्रमणले विश्‍वभर महामारी लिइरहेका बेला सरकारले सामान्य मुद्दाका थुनुवारकैदी रिहा गर्ने भएको छ ।

सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवारकैदीहरुलाई रिहा गर्ने प्रक्रियाका लागि गृहमन्त्रालयले आवश्यक छलफल अघि बढाएको छ । यसका लागि गृहमन्त्री रामबहादुर थापा ुबादलुले छलफल थालेका छन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलबीच पनि यसबारेमा छलफल भएको स्रोतले जनाएको छ ।

‘सरकारले थुनुवा रिहा गर्नेबारे अहिल्यै केही निर्णय लिइसकेको छैन’, गृहमन्त्री थापाको सचिवालयका एक सदस्यले भने, ‘अहिले यसबारेमा छलफल भइरहेको छ। थुनुवा रिहा गर्ने मापदण्डबारे छलफल भइरहेको हो। अहिल्यै कुनै निचोडमा पुगेको अवस्था छैन ।’

यसबारेमा आवश्यक मापदण्ड र कार्यविधि बनाउनका लागि बिहीबार अपरान्ह महान्यायाधीवक्ताको कार्यालयमा छलफल हुँदैछ । सरोकारवालाको छलफलपछि सरकारले आवश्यक निर्णय लिने भएको छ ।

‘अहिले नै निर्णयमा पुगेको भन्‍ने होइन, सरोकारवाला निकायबीच आजै महान्यायाधीवक्ताज्यूको कार्यकक्षमा बैठक हुँदैछु, महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता सञ्‍जीवराज रेग्मीले भने, ‘यस बैठकमा गृहमन्त्रात्रलय, प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका मन्त्रालय, कारागार व्यवस्थापन विभागसहितका सरोकारवाला कार्यालयका प्रतिनिधिको उपस्थिति हुनेछ ।’

प्रहरी प्रधान कार्यालय र महान्याधीवक्ताको कार्यालयले थुनुवा छाड्ने मापदण्ड तयारीका लागि आवश्यक गृहकार्य गरिरहेका छन् । अनौपचारिकरुपमा छलफल अघि बढेको अवस्थामा कैदी छाड्ने मापदण्ड र कानुनी प्रक्रिया तय गर्नका लागि बैठक बस्‍न लागेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले २५ जना भन्दा धेरैलाई एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाइसकेको छ। यस्तोमा नेपालका अधिकांश कारागारमा हजारौँ कैदी-थुनुवा छन् ।

२५ जना क्षमताको कारागारमा ५ सय जनासम्म र सय क्षमताको कारागारमा २ हजारजनासम्मलाई कोचाकोच राखिएको छ। हजारौंको संख्यामा कारागारमा रहेका कैदीहरुमा कोरोना संक्रमण चाँडो फैलन सक्ने भएकाले सरकारले यस्तो कदम उठाउन लागेको हो ।

  • थाहा खबर
प्रकाशित : २०७६ चैत्र ६, बिहीबार १६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ