कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि जनप्रतिनिधि परिचालन


कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण हुनबाट नगरबासीलाई जोगाउनका लागि सचेतना फैलाउने कार्यमा जनप्रतिनिधि नै सक्रिय रुपमा खटिएका छन्।

सावुन पानीले आधा आधा घण्टामा हात धुने, घरभित्रै बस्ने, भारतलगायत तेश्रो मुलुकबाट आएका परिवारका सदस्यलाई अलग्गै घरमै क्वारेन्टाइनमा राख्ने, उच्च ज्वरो लगायतका लक्षण देखा परे तत्काल हेल्थ डेस्कमा सम्पर्क गर्ने लगायतका कुराहरू नगरबासीलाई सम्झाउनु बुझाउने कार्यमा जनप्रतिनिधि आफैँ लागेका छन्। 

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागि नगरमा नगर प्रमुखको संयोजकत्वमा पूर्व तयारी कार्यसम्बन्धी नगरपालिकास्तरीय ३३ सदस्यीय समिति गठन गरी परिचालन गरिएको छ। नौवटै वडामा वडास्तरीय वडा समिति गठन गरी स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका परिचालन गरिएका छन्।

गठित समितिले शंकास्पद व्यक्तिको विवरण संकलन गर्ने, क्वारेन्टाइनमा राख्ने, अस्पताल पुर्‍याउने र हेल्थ डेस्क व्यवस्थापनको कार्यमा क्रियाशील रहेको नगर प्रमुख कर्णबहादुर हमालले बताए।

‘पूरै नगरपालिका क्षेत्रका बासिन्दालाई विशेष परिस्थिति बाहेक घरबाट बाहिर निष्कन निषेध गरेका छौं’ उनले भने, ‘भारत लगायत बाह्य मुलुक बाट फर्केकालाई निगरानीमा राखिएको छ। त्यसा लागि महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्यकर्मी, जनप्रतिनिधिको सहयोग लिइएको छ।’

भारतलगायत बाह्य मुलुकबाट आएका व्यक्तिको सम्पर्क नम्बरसहित नामावली तयार गरी घरमै क्वारेण्टाइन बस्ने र कोराना भाइरसलगायतका लक्षण देखा परे स्वास्थ्य संस्थमा सम्पर्क राखी परामर्श लिने व्यवस्था मिलाइएको नगर प्रमुख हमालको भनाई रहेको छ। 

भारत लगायत तेश्रो मुलुक बाट रोजगारी गरी फर्केकाका लागि नगरपालिकाको वडा नं ७ मा छुट्टै हेल्थ डेस्कको व्यवस्था गरिएको छ। नगरपालिकाले  वडा नं १,२,३ का बासिन्दालाई पायक पर्ने बाणिबजार, वडा नं ४,५,६ का बासिन्दालाई पायक पर्ने  गुलरीया बजार, वडा नं ७ र ८ का बासिन्दालाई पायक पर्ने वडा नं ८ को कार्यालयमा हेल्थ डेस्कको व्यवस्था गरेको छ।

  गुलरीया बजारकै कञ्चन बहुमुखि क्याम्पसमा क्वारेण्टाईनको व्यवस्था गरिएको छ। रु पाँच लाख ५० हजारको लागतमा स्वास्थ्यकर्मीका लागि शुरक्षा उपकरण र पोशाकको व्यवस्था गरिएको छ।

पूरै नगरपालिका क्षेत्रलाई लकडाउन गरी सभा, गोष्ठी, बैठक, विवाह, भोजभतेर, धार्मिक अनुष्ठान लगायतका कार्यमा पूर्ण रुपमा रोकलगाई भिडभाड नगर्नका लागि नगरबासीमा आब्हान गरेका छौं नगर प्रमुख हमालले भने, ‘अटेर गर्ने र अनावश्यक रुपमा बजार क्षेत्र, ग्रामीण क्षेत्रमा हिडडुल गरेको पाइए कार्वाही अगाडि बढाउछौं।’  उनका अनुसार नगरबासीलाई आवश्यक पर्ने खाद्यान्न, औषधि, तरकारी खरिद गर्नका लागि निश्चित समय निर्धारण गरिएको छ।

नगरपालिका क्षेत्रमा रहेका सांस्कृतिक केन्द,स्वीमिङ पुल, मनोरञ्जन स्थल र खेल मैदानलगायत चैत मसान्त सम्मका लागि बन्द गरिएका छन्। कोरोना भाइरससम्बन्धी लक्षण देखिए त्यसका लागि नगरपालिकाले नौवटा हेल्प नम्बर समेत जारी गरेको छ।

हेल्प नम्बरमो फोन गरेमा जुनसुकै बेला पनि स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजानका लागि एम्बुलेन्स सहितको सेवाको व्यवस्था गरिएको छ। हालसम्म नगर क्षेत्रमा कुनै पनि कोरोना भाइरसका संकास्पद विरामी फेला परेका छैनन्।

क्षेत्रफलका हिसावले कृष्णपुर नगरपालिका जिल्लाका सबै नगरपालिका भन्दा ठूलो नगरपालिका हो। नगरपालिकाका अधिकांस परिवार गहुँ बाली लगाए पछि जिल्लाका बाह्य क्षेत्र र भारतमा रोजगारीका लागि जाने गरेका छन्।  

भारतमा कोरोनाको संक्रमण बढेपछि बाह्य क्षेत्र र भारतमा काम गर्ने घर फर्केका छन्। भारतमा होटेल, कारखाना, उद्योग, निर्माण कम्पनी बन्द भएपछि घर फर्कनेहरूको संख्या बढ्दो रुपमा रहेको छ।

सीमा क्षेत्रमा स्वास्थ्य चेकजाँच गराएर अधिकांश फर्केका भए पनि सतर्कता अपनाएका छौं नगर प्रमुख हमालले भने। 

प्रकाशित : २०७६ चैत्र १४, शुक्रबार २२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ