सीमा नाकाबाट आवतजावत गर्न नदिन युवाहरूले थाले गस्ती


कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशलाई लकडाउन गरेको छ। सीमा नाका समेत ठप्प छ। यद्यपी नेपाल–भारत खुला सीमाका कारण नाकाहरूबाट आवातजावत रोकिएको छैन। जसका कारण भारत आउँदा/जाँदा कोरोना भाइरसको संक्रमण फैलिने खतरा छ।

सीमा नाकाबाट भइरहेको आवतजावत रोक्न सुरक्षाकर्मी समेत असफल भइरहेको अवस्थामा सिरहाको औरही गाउँपालिका–५ का युवाहरूले लाठी बोकेर सीमा नाकामा गस्ती सुरु गरेका छन्। वडाध्यक्ष दिलिपकुमार यादवको समन्वयमा युवाहरूले गस्ती थालेका हुन्। सीमा नाका भएर आवतजावत गर्न नदिन गस्ती सुरु गरेको स्थानीय युवा विवेक दासले जानकारी दिए।

उनका अनुसार करिब २०/२५ जना युवाहरू अलगअलग समूह बनाई नाकामा गस्ती गरिरहेका छन्। भारतको बिहारमा समेत संक्रमण फैलिसकेकाले विशेषगरी त्यहाँका बासिन्दालाई नेपाल छिर्न नदिन गस्ती गरिरहेको उनले सुनाए। उनले भने, ‘नेपालीलाई नेपालतर्फ र भारतीयलाई भारततर्फ नै पठाइरहेका छौँ। आज बिहानदेखि करिब सयौं व्यक्तिलाई घर फर्काएका छौँ।’

गस्तीमा खटेका युवाहरूलाई स्थानीय डाक्टर महेश यादवले निशुल्क मास्क सहयोग गरेका छन्। लकडाउन जारी रहुन्जेल युवाहरूले नाकामा गस्ती गर्ने वडाध्यक्ष यादवले बताए। भारतीय नागरिकले नेपालमा प्रवेश नगरे कोरोनाको संक्रमण फैलिन नसक्ने भएकाले युवाहरूसँग समन्वय गरी सीमामा गस्ती थालिएको उनको भनाइ छ।

विदेशबाट आएकाहरूको विवरण सार्वजनिक

धनुषाको शहिदनगर नगरपालिकाले छिमेकी मुलुक भारत र खाडी मुलुकबाट आएकाहरूको विवरण सार्वजनिक गरेको छ। ९ वडा रहेको शहिदनगरमा चैत १० देखि १६ गतेसम्म ८२ जना विदेशबाट आएका छन्।

भारत र खाडी मुलुकबाट आएकाहरू कोरोना भाइरस संक्रमित हुनसक्ने भन्दै सरकारले तथ्याङ्क संकलन गरी स्वास्थ्य परीक्षण गर्न भनेपछि शहिदनगरले विवरण सार्वजनिक गरेको हो। शहिदनगरको वडा–१ मा सबभन्दा बढी १३ जना भारतबाट, ४ जना कतारबाट र १ जना बंगलादेशबाट आएका छन्।

विवरण संकलन गरिएपनि विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बस्न नचाहेको नगरप्रमुख उदय बरबरियाले जानकारी दिए। उनका अनुसार डर र त्रासका कारण उनीहरूले क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका हुन्। तर, प्रशासनलाई लगाएर भएपनि क्वारेन्टाइनमा राखेर तयारी भइरहेको छ।

प्रकाशित : २०७६ चैत्र १६, आईतवार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ