लकडाउनका कारण जनकपुरबासीले ‘चैती छठपूजा’ नगर्ने


कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण यस वर्ष जनकपुरबासीले चैती छठपूजा गर्न नपाउने भएका छन्।

मधेसका अधिकांश गाउँमा हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको षष्ठी अर्थात आजको दिन चैती छठपूजा गर्ने चलन छ। जनकपुरबासीले चैती छठपूजा बडो धुमधामका साथ मनाउने गर्दछन्। विगतका वर्षमा आजको दिन जनकपुरका पोखरीहरु झकिझाउ हुन्थे । तर कोरोना भाइरसका कारण यसवर्षको चैती छठपूजामा पोखरीहरु सुनसान छन्।

जनकपुरमा जस्तै अन्य ठाउँका पोखरीमा समेत छठपूजा गर्न घाटहरु बनाइएको छैन। बजार र गाउँघर सुनसान बनेका छन्। सवारीसाधन ठप्प छ। सर्वसधारणले समेत छठपूजा गर्दा भिडभाड हुने र कोरोना भाइरसको संक्रमण फैलिने खतराका बढ्ने भन्दै पूजा नगर्ने बताएका छन्।

यता, धनुषा प्रहरीले यसवर्ष छठपूजा नगर्न सूचना नै जारी गरी सर्वसधारणसँग अपिल गरेको छ। चैती छठपूजा कुनै पनि सार्वजनिक स्थान वा पोखरीहरुमा नमनाउन सर्वसाधारणसँग अपिल जारी गरेर आग्रह गरेको प्रहरी प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

‘चैती छठ पूजाका श्रद्धालु तथा भक्तजनहरुमा पर्न गएको पीडाप्रति जिल्ला प्रहरी कार्यालय धनुषा क्षमाप्राथी छौं’, सूचनामा उल्लेख छ।

यस्तै, जनकपुरमा धुमधामसँग मनाइने रामनवमी समेत स्थगित गरिएको छ। यसवर्ष चैत २० गते रामनवमी पर्छ। जानकी मन्दिरको आयोजनामा हरेक वर्ष धुमधामका साथ भगवान रामको जन्मोत्सव रामनवमी मनाइन्थ्यो। तर लकडाउनका कारण रामनवमी मनाइने छैन।

लकडाउनमा भिडभाड गर्न नपाइने भएकाले रामनवमीको अवसरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दासले जानकारी दिए। उनले भने, ‘हामीले मात्र विधि व्यवहार गर्नेछौं।’

प्रकाशित : २०७६ चैत्र १७, सोमबार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ