सिरहा : बुधबार सिरहामा चार थप कोरोना भाइरस (कोभिड–१९)को संक्रमित फेला परेको छ । उनीहरु चारै जना समुदाय स्तरका हुन् ।
मिर्चैया नगरपालिका ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा एक जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
कोरोनाको संक्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। पेट्रोल पम्प सील गरिएको छ । कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालयको सहयोगमा संक्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य कार्यालयको सूचना केन्द्रका फोकल व्यक्ति अन्देश्वर चौधरीले जानकारी दिए ।
यसअघि गत शनिबार पनि समुदायका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका ८ का गैरसरकारी संस्थाका कर्मचारी हुन् ।
सिरहामा हालसम्म ४४ सय ६६ जनाको स्वाब संकलन गरिएको छ। जसमा २२० जनाको पीसीआर रिर्पोट पोजिटिभ र ३८ सय ८० जनाको निगेटिभ आएको छ । ११७ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
१९१ जनाको कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । २९ जना आइसोलेसनमा उपचाररत छन् । संस्थागत क्वारेन्टाइनमा ३८७ जना र होम क्वारेन्टाइनमा ४०६ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिए ।
- अन्नपूर्ण पोष्ट