सिरहा : लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
पछिल्लो समय वडा नम्बर ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २३ देखि ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ ।
नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नम्बर ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए । वडा नम्बर ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब सङ्कलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।
यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिए ।