काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई पदबाट राजीनामा दिन दवाव दिँदै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन् ।
दाहाल एक हप्ता ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइसोलेसनमा बस्नेछन् । दाहालका छ जना सुरक्षाकर्मीहरूलाई कोरोना देखिएपछि आइसोलेसनमा बसेका हुन् । उनले आन्तरिक र बाह्य भेटघाट बन्द गरेका छन् । कोरोनाबाट दाहालसहित उनको परिवार सुरक्षित छ । दाहाल आइसोलेसनमा बसेपछि प्रधानमन्त्री ओलीसँगको सम्वाद बन्द भएको छ ।
आइसोलेसनमा बसेका अध्यक्ष दाहालले शनिबार ओली निकटका तीन नेतालाई खुमलटारमा भेटेका थिए । दाहालले संसदीय दलका उपनेता सुवास नेम्वाड, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलसँग भेटघाट गरेको स्रोतले जनाएको छ ।