जनकपुरधाम, १० भदौं । धनुषाको नगराइन नगरपालिकाका सव-इन्जिनियर उमेश मण्डल विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
मण्डलले विभिन्न योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिए वापत सेवाग्राहीसँग ५५ हजार रुपैयाँ घुस लिएलगत्तै जनकपुरबाट पक्राउ परेका थिए । उनीमाथि अख्तियारले मंगलवार अदालतमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा निज सव-इन्जिनियर उमेश मण्डलले आयोजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तथा बिल भुक्तानी सहजीकरण गरेबापत भनी घुस लिएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि भएको अख्तियारले दावी गरेको छ ।
कसुर पुष्ट भएकाले अख्तियारले मण्डललाई विगो ५५ हजार रुपैया कायम गरी विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको जनाएको छ ।