सिरहा । नवराजपुर गाउँपालिकामा बालमैत्री स्थानीय शासन र बालबालिकाका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रमको नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगरा यादव र उपाध्यक्ष पुनम कुमारी यादवले संयुक्त रुपमा ब्यानर पढेर उद्धघाटन गरेको थियो ।
लाइफ नेपालले आयोजना गरेको उक्त एक दिने अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक राजेश झा र नवराज नेपालले बालमैत्री स्थानीय शासन र बालबालिकाका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि सहभागिहरुलाई जानकारी गराए ।
नेपाल सरकारले सबै स्थानीय तहलाई ०८७ सम्म बालमैत्री बनाउने लक्ष्य लिएको छ । स्थानीय तहमा बालबालिकासँग सम्बन्धि नीति, योजना र कानुन तर्जुमा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निमार्ण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्धेश्यनै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ को रहेको प्रशिक्षक राजेश झाले उल्लेख गरे ।
उनले बालमैत्री शासनका लागि तय गरिएका बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका ६ सूचक, र बाल सहभागिता ६ सूचक गरी सेवा प्रवाह सम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक रहेको बताए ।
बालमैत्री स्थानीय शासनको पूर्वतयारी चरण, तयारी चरण, नीति तथा योजना तर्जुमा तथा कार्यान्वयन र बालमैत्री वडा /गाउँपालिका घोषण तथा दिगोपनको चरणलगायत विषयमा प्रशिक्षण दिएको थियो ।
पालिका तहमा बालमैत्री स्थानीय शासन कार्यन्वयनका लागि बजेट विनियोजन, बजेट प्रणाली, सार्वजानिकिकरण, अनुगमण र मुल्याकन तथा सार्वजानिक वित्तको प्रभावकारिता लगायतका विषयमा प्रशिक्षक नवराज नेपालले प्रशिक्षण दिएको थियो ।
गाउँपालिकाका अध्यक्ष यादवले बालबालिका लगानीका आधार रहेको भन्दै भावी समाज सभ्य, सुसंस्कृत एवंं जिम्मेवार बनाउन अहिले नै सम्पूर्ण बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने बताए । उनले आफनो पालिकाले बालबालिकालाई व्यवस्थापन गर्ने सवालमा काम गरिरहेको बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष नविन कुमार यादव, २ का अध्यक्ष सुरेश कुमार यादव, वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष देवराम यनदव, ५ का अध्यक्ष जयप्रकाश यादव, कार्यपालिका सदस्य र पालिकाको विभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।