धर्मेन्द्र पासवान,लहान । मधेश प्रदेश स्थित सिरहाको लहानमा रहेको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाले फार्मेसी पढ्न आफ्नो पत्नीको एकल नाम सिफारिस गरेपछि टुडेखोजमा प्रकाशित समाचारलाई उद्धृत गर्दै मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा स्पष्टीकरण पेश गर्न कडा निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशको पत्र संख्या २०८१/८२ को च. नं. २१३ मा उल्लेख भए अनुसार मन्त्रालयको ध्यानाकर्षण भएकोले सत्री तथ्य के कसो भएको हो रु र सोको स्पष्ट जानकारी सहित पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र राम कुमार शारडा उमा प्रसाद मुरारका अस्पताल प्रादेशिक अस्पताल, लहानका मेसु डाक्टर कुशवाहालाई स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।
प्रसुती तथा महिला रोग विशेषज्ञ (एमडी) गरेकी आफ्नै पत्नी सुशिला सिंह लाई मेसुले छात्रवृत्तिमा फार्मेसी पढ्न सिफारिस गरेको कुरा बाहिरिएपछि टुडेखोजले समाचार प्रकाशित गरेको थियो । लहान प्राविधिक शिक्षालय, तथा राम कुमार शारडा उमा प्रसाद मुरारका अस्पताल प्रादेशिक अस्पताल, लहान, सिरहा बीच मिति २०८०/११/२२ मा भएको प्रयोगात्मक अभ्यास सम्बन्धी सम्झौता अनुसार डिप्लोमा प्रमाणपत्र फार्मेसी, सामान्य चिकित्सा र मेडिकल ल्याव टेक्नोलोजी अध्ययनको लागि अस्पताल परिवारको लागी १/१ सीटको व्यवस्था गरिएको सम्झौतामा उल्लेख थियो ।
मेसु डाक्टर कुशवाहाको संयोजकत्वमा रहेको समितिले मिति २०८१/०४/०९ गतेको प्रस्ताव नं.६ मा निर्णय भए बमोजिम मेसु पत्नी डा.सुशिला सिंहको एकल नाम सिफारिस गरिएको थियो ।