जनकपुरधाम, ११ भदौं । मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै ठगी गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–११ का २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका–२ का २८ वर्षीय पंकज कुमार सिंह छन् ।
यादवले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ज्ञानकुप संस्कृत उच्च माविको फिल्डमा मोटरसाइकलको चालक अनुमतीपत्रका लागि भइरहेको ट्रायल परीक्षामा पास गराइदिन्छु भनी दुई सेवाग्राहीबाट रकम लिएको प्रहरीले जनाएको छ। उनले धनुषाको मिथिला नगरपालिका–६ का देवेन्द्रप्रसाद यादवसँग पाँच हजार र सवैला नगरपालिका–१० का अरुणकुमार पन्जियारसँग सात हजार रुपैयाँ लिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार यादवलाई पक्राउ गर्दा उनले विभिन्न व्यक्तिको लाइसेन्स बनाइदिन महोत्तरी गाउँपालिका–२ का २८ वर्षीय पंकजकुमार सिंहलाई एक लाख ५१ हजारको एनआइसी एसिया बैंकको चेक दिएको खुलेको छ । यादवको वयानको आधारमा सिंहलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
प्रहरीले यादब र सिंहमाथि ठगी मुद्दा चलाएको जनाएको छ । उनीहरु जनकपुर यातायात कार्यालयमा बसेर दलालको गर्दै आएका थिए ।