भद्रपुर, १० भदौं । अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ ।
विगतका वर्षमा तीज आउनुभन्दा दुई साताअघिदेखि नै तीजको रौनक तातिसकेको हुन्थ्यो । तर यसपालि भने झापामा तीजको नाममा हप्तौँअघिदेखि महङ्गा पहिरन र गहना प्रदर्शन गर्ने तथा होटल रेस्टुराँमा दरको नाममा भोजभतेर चलाउने बेथिति देखिएको छैन । महिला अगुवा नै तीजलाई रितीरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने दायित्वलाई नेपाली नारीहरुले आत्मसात गर्दै लगेको बताउनुहुन्छ ।
मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा तीज मनाउने तौरतरिका समयअनुसार बदलिने भए तापनि झापामा विगतको जस्तो महीना दिनअघिदेखि तीज भन्दै भोजभतेर लगाउने बेथिति यसपालि नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तारे होटलमा तीज मनाउने नेपाली परम्परा होइन, माइतीमा बसेर दुःखसुखका गीतमा लय हाल्दै नाच्ने र गाउने, दरखाने तथा व्रत बस्ने मौलिक परम्परा हो ।”
सङ्घसंस्थाले महिला सदस्यलाई लक्षित गरी तीज विशेष कार्यक्रम राख्ने परम्परा थपिएकालाई पनि नराम्रो मान्न नहुने र त्यसमा महङ्गा पहिरन र गहनाको प्रदर्शनचाहिँ गर्न नहुने उहाँको धारणा छ । यसपालि झापामा सङ्घसंस्थाले मनाएको तीजमा तडकभडक र बेथिति नदेखिएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । विगत केही वर्षदेखि चोकचोकमा चन्दा उठाएर सामूहिक तीज मनाउने, बाजा घन्काएर हप्तौँसम्म नाचगान गर्ने र ठूला होटलमा भोजभतेर लगाउने प्रतिष्पर्धा चलेको थियो । तर यसपालि त्यस्तो प्रतिष्पर्धा छैन ।
विगतमा तीजमा तडकभडक भएको भनी धेरै बहस चलेका कारण सचेत महिलाले परम्परा र संस्कृति जोगाउँदै समाजलाई एकताको सूत्रमा गाँस्ने नारी पर्वको रुपमा तीजलाई मनाउन थालेका सञ्जीवनी महिला समूहकी अध्यक्ष रेणुका डाँगी बताउनुहुन्छ । उहाँले महङ्गा गरगरहना र पहिरन नहुनेले तीज मनाउनै नसक्ने जस्तो अवस्था विगतमा सिर्जना गरिएको हुँदा गरीब र धनीको विभेद नहुने गरी मौलिक र सरलरूपमा तीज मनाउन थालिएको बताउनुभयो ।
तीज आउन केही दिन मात्र बाँकी रहे पनि विदेशी बाजा र गानामा चोकचोकमा नाचगान गर्नेहरु यसपालि नदेखिएका मेचीनगर–१५ की ८० वर्षीया देवीमाया न्यौपानेले बताउनुभयो । “तीज भन्या जम्मा दुई दिनको चाड हो, एक दिन दरखाने र अर्को दिन व्रत बस्ने”, उहाँले भन्नुभयो । मेची बहुमुखी क्याम्पसकी पूर्वक्याम्पस प्रमुख टीका प्याकुरेल तीज परम्परालले नेपाली समाजमा गहिरो प्रभाव छाडेकाले कतिपय बेथिति हटाउँदै पर्वको मौलिकस्वरूपलाई जोगाउने सचेतना बढेको बताउनुहुन्छ । उहाँले घरघरमा मात्र मनाउने पुरानो चलन भए तापनि सामूहिक रुपमा तीज मनाउने नयाँ चलनले महिलाको सामाजिक चेतना र एकताको स्तर बढाउन मद्दत पुगेको बताउनुभयो । आफ्ना–आफ्ना हकअधिकारका लागि सामूहिक छलफल गर्ने परिपाटीको विकाससमेत तीजमा हुने भेलाबाट भएको प्याकुरेल बताउनुहुन्छ ।
रुपन्देही : “कहाँमा जान्छौँ रानीचरी बगाल बरीलै भगवान्लाई भेटन, भगवान्लाई भेट्न के–के पाहुर चाहिन्छ बरीलै फुलपाती अक्षता ।” तीज आउनेवित्तिकै बुटवलको जितगढीकी मनकला आचार्य यस्तै पुराना गीत सम्झिनुहुन्छ । “ऊँंभोबाट रानीचरी झ¥यो कपुर गेडीझै मासु बरीलै, जन्मघर छोडेर आइयो बलेनी पानीझैं आँशु बरीलै” तीजको भाका सुनाउँद उहाँले भन्नुभयो, “पहिले हामीले गाउने गीत यस्तै हुन्थे, गीतबाटै दुःखसुख बिसाउँथ्यौँ, तर अहिले जमाना फेरियो ।”
रुपन्देहीको शङ्करनगरकी शारदा ज्ञवालीलाई पनि तीजका पुराना भाका असाध्यै मन पर्छ । “पहिले–पहिले चेलीबेटी जम्मा भएर आफना पीर, ब्यथा, बेदना गीतको माध्यमबाट प्रस्तुत गथ्र्याँै, त्यसको छुट्टै मजा थियो तर अहिले कहाँ सुन्न पाउनु ?” तीजको भाका गाउँदै भन्नुभयो, “हाम्रा बाबाले दिएको दाइजो थाल र कचौरा झालेमाले गाई, कहिलेकाहीँ म माइत आउँदा हाँसेर बोले है कान्छा मेरा भाइ ।”
विशेषगरी हिन्दू महिलाकामाझ प्राचीनकालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेलीहरु जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि निकै रमाइलो र महत्वपूर्ण पर्व हो । पछिल्लो समयमा तीज आधुनिकतातर्फ गए पनि यसको मौलिक संस्कृति आफैँमा महत्वपूर्ण रहेको अधिकारकर्मी कमला गहतराजको भनाइ छ ।
पहिले पहिले जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुखदुःख गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हरितालिका तीज हो । जन्मघर छाडेर कर्मघर जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा पनि गीतबाटै प्रस्तुत गरिन्थ्यो । तीजमा गाइने पुराना गीतले चेलीको भावानालाई समेटेका हुन्थे । माइतीप्रति चेलीको बिलौना र पीडालाई समेटेका हुन्थे । तीजका गीतले महिलामाथिको अन्याय अत्याचारका पीडालाई पनि समेटेका हुन्थे ।
सबै चेली माइतीमा जम्मा भएर आफ्ना मनका पीरब्यथा पोख्ने पर्वका रुपमा मानिएको हरितालिका तीज पछिल्लो समयमा भने परिवर्तन हँुदै गएको छ । अहिले बजारमा तीजका नाममा अधिकांश मायाप्रीतिका गीत आउने गरेका कारण तीजको मौलिकता र संस्कृति ओझेलमा पर्दै गएको लेखक दुर्गा पौडेलले बताउनुभयो । “तीज पर्वलाई सन्देशमूलक बनाउन जरुरी छ, यो पर्वमार्फत आपसी सद्भाव, एकता र लैङ्गिक समानताको सन्देश दिनुपर्छ”, उहाँले भन्नुभयो ।
महिलामाथिको हिंसा र दमनको स्वरुप बदलिएसँगै गीतका भाका र शब्द फेरिनु नौलो होइन तर बजारमा आएका केही गीत र कलाकारको प्रस्तुतिले तीजको मौलिकतालाई बिगारेको संस्कृतिवद् राजेन्द्रकुमार आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले समय फेरिएको छ, अब तीजलाई समानता र सशक्तीकरणसँग जोडेर मनाउनुपर्छ, तर आधुनिकताका नाममा विकृति भित्रिन दिनुहँुदैन ।”