जनकपुरधाम, १४ भदौ । जनकपुरको रामानन्दचोक चोकमा रहेको नेपाल डेन्टल हस्पिटल एण्ड टेक्निकल रिसर्च इन्स्टिच्युटले अतिरिक्त रकम नमागेको विद्यार्थीले स्पष्ट पारेको छ ।
क्याम्पसले अतिरिक्त रकम मागेको र नदिए परीक्षाबाट बंचित गराउने धम्की दिएको समाचार पिसिएल इन डेन्टल साइन्स तेस्रो वर्षमा अध्ययनरत पोस्पल साहको भनाई उधृत गर्दै एक अनलाइनले समाचार प्रकाशित गरेको थियो । तर त्यही विद्यार्थीले उक्त समाचारको खण्डन गरेका हुन् । क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने- म क्याम्पसले अतिरिक्त रकम मागेको कुरा भनेकै छैन ।
विद्यार्थी साहले आफूमाथि क्याम्प्सको शुल्क करिब ५० हजार बाँकी रहेको समेत जानकारी गराए । उनले प्रवेशपत्र पानीमा भिजेर नष्ट भएपछि क्याम्पसले बिना प्रवेशपत्रको परीक्षामा सहभागी हुन नदिने भनेको कुरा मिडियामा भनेको दावी गरे ।
यता, क्याम्पस संचालक रंजित साहले प्रवेशपत्र पुनः बनाउन निवेदन समेत दिन नचाहेकाले परीक्षामा सहभागी नगराउने भनेर मात्र चेतावनी दिएको बताए । उनले मिडियामा आएको समाचारमा कुनै सत्यता नभएको दावी गरे । समाचारमा क्याम्पसमा जुवा खेलिरहेको भनेर लेखिएको कुरा पनि सत्य नभएको भन्दै जुवा खेल्ने कोठा नै क्याम्पसको नभएको स्पष्ट समेत पारे ।