पर्सा २२ भदौं । प्रहरी र लागुऔषध व्यूरोको टोलीले तयारी अवस्थाको लागुऔषधसहित पर्साको वीरगन्जबाट बाराका रमेश चौधरीलाई पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकमा सवारी साधन र पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा बाराका चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय चौधरीलाई पर्साको रजतजयन्ती चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उनले लु. ४८ प. ५२६७ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ तयारी अवस्थाको नुर्फिन, डाइजोपाम, र फेनार्गन १७⁄१७ थान लिएर आउँदै गरेको अवस्थामा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। चौधरीको साथबाट खैरो हिरोइन २ पुरिया अर्थात् १ ग्राम पनि फेला परेकोले मोटरसाइकल, लागुऔषध र मानिसलाई नियन्त्रणमा लिएको उनको भनाइ छ। पक्राउ परेका चौधरीलाई लागुऔषध मुद्दामा थप अनुसन्धन भइरहेको पर्सा प्रहरीले जनाएको छ।