जनकपुरधाम, २ असोज । हर्ट अट्याक भएर निधन भएका राजपा नेता रामबहादुर महतोका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय सिरहा अध्यक्ष मण्डलले गरेको छ ।
राजपा अध्यक्ष मण्डल र प्रदेश २ का ६ मन्त्री तथा राज्यमन्त्रीबाट आर्थिक सहयोग संकलन गरी एकमुष्ट रुपमा मृतक महतोका परिवारलाई सहयोग गर्ने निर्णय राजपा सिरहा अध्यक्ष मण्डलको बैठकबाट गरिएको हो । यस्तै मृतक महतोका छोरालाई जागिर दिन प्रदेश सरकारसँग अपिल गर्ने निर्णय पनि गरिएको छ ।
अध्यक्ष मण्डल र प्रदेश मन्त्री तथा राज्यमन्त्रीहरुबाट ८ देखि १० लाख संकलन गरी मृतक महतोको परिवारलाई सहयोग गर्ने राजपा सिरहाका अध्यक्ष मण्डलका सदस्य मो. मुस्ताकले जानकारी दिए । उनले भने, ‘महतोको आर्थिक अवस्था एकदमै कमजोर छ । त्यसैले उनको शुभचिन्तक तथा गाउँलेले गरेको आग्रह अनुसार सहयोग गर्ने निष्कर्षमा पुगेका छौं ।’
उनले मृतक महतोकी एक मात्र छोरीलाई पठन पाठनको जिम्मेवारी समेत पार्टीले लिओस् भन्ने चाहना रहेको पनि बताए । उनका अनुसार मृतकका गाउँलेले भोज गरिदिन पनि आग्रह गरेपछि हामीले भोज समेत गरिदिने जानकारी दिए । उनले तत्काल क्रियाखर्च बापत अध्यक्ष मण्डलका सदस्य उपेन्द्र सिंहले ५१ हजार र अन्य दुई सदस्यले २५/२५ हजार तत्काल सहयोग गरेको पनि बताए ।
अध्यक्ष मण्डलका सदस्य उपेन्द्र सिंह भन्छन्, ‘मृतक महतोले कहिल्यै कमाउनु भएन । सधैं पार्टीकै लागि काम गर्नुभयो । र उनको घरको अवस्था एकदमै कमजोर छ । त्यसैले आर्थिक सहयोग गर्ने निर्णय भएको छ ।’ उनले मृतक महतो तत्कालिन सद्भावना पार्टीकाट आएको हुनाले राजेन्द्र महतोले सहयोग गर्ने अपेक्षा रहेपनि अन्य नेताहरुले सहयोग गर्छ भन्ने सम्भावना न्यून रहेको बताए ।
मृतक महतोको यही असोज ६ गते हार्दिक श्रद्धान्जलीसभाको आयोजना गर्ने बताइएको छ । उक्त सभामा राजपा अध्यक्ष मण्डल नेता र प्रदेशका मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाउने तयारी भएको छ । श्रद्धान्जलीसभा कार्यक्रममै आर्थिक सहयोग र उनका छोरालाई जागिरका लागि अपिल गर्ने बताइएको छ ।
महतोको हर्टअट्याक भएर भदौं २५ गते विहान निधन भएको थियो ।