चिनियाँ राष्ट्रपति सी आउँदा हिरासतमा राखिएका ठाकुरले मागे यातनाको क्षतिपुर्ती !


काठमाडौं, ३० असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका क्रममा सम्भावित विरोधलाई मध्यनजर गरी थुनामा राखिएका नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुरले सरकारसँग जवाफसहित क्षतिपूर्तिको माग गरेका छन् ।

नेपालमा हिन्दूत्वका लागि पनि अभियान चलाइरहेका ठाकुरले सीको भ्रमणका क्रममा प्रहरीले पक्राउ गरी थुनामा राख्नुको कारण, आफूले पाएको मानसिक यातनाको क्षतिपूर्ति दिन पनि माग गरेका हुन् । उनी भन्छन्,‘संविधानको धारा २० (१) विरुद्ध मलाई पक्राउ गर्नुको कारणसहितको सूचना दिइएन, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय अनुबन्धको धारा ९ (१) अनुसार कुनै व्यक्तिलाई पक्राउ गर्दा त्यसको कारणबारे जानकारी दिनुपर्ने व्यवस्थाको उल्लंघन भएको छ । यसबारे सरकारले जवाफ दिनुपर्छ ।’

संबिधानको धारा २२ (१) ले यातना विरुद्धको हक सुनिश्चित गरेको जनाउँदै ठाकुरले आफूले पाएको मानसिक यातनाको क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् भने राष्ट्रिय मानव अधिकार आयोगसँग त्यसका लागि अपिल गर्न भनेका छन् । २४ असोज साँझ हेटौंडा हुँदै फर्पिङको बाटोबाट काठमाडौं आउँदा सोधपुछका लागि भन्दै प्रहरीले ठाकुरलाई पक्राउ गरी किर्तिपुर प्रहरीमा हिरासतमा राखेको थियो ।

नेपाल फाउन्डेशनमार्फत हिन्दूत्व र भारतका लागि काम गरेका कारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा ठाकुरलगायतको समूहले विरोध गर्न सक्ने आंकलनका साथ प्रहरीले पक्राउ गरेको थियो । उनलाई तीन दिन हिरासतमा राखी मुक्त गरिएको छ ।

प्रकाशित : २०७६ आश्विन ३०, बिहीबार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ