ठगीमा पर्नुभयो ? अब मोबाइलबाटै उजुरी गर्नुस्, सरकारले ल्यायो ‘उपभोक्ता गुनासो एप्स’


काठमाडौं, ८ कार्तिक । उपभोक्ताले बजारमा आफू ठगिएको महसुस भए मोबाइल एप्समार्फत उजुरी गर्न सकिने सफ्टवेयर एप्स वाणिज्य विभागले सञ्चालनमा ल्याएको छ ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रममा विभागीय मन्त्री मातृकाप्रसाद यादवले मोबाइल एप्सको शुभारम्भ गरे । हाल प्लेस्टोरमा मात्रै उपलब्ध एप्सको नाम ‘उपभोक्ता गुनासो एप्स’ राखिएको छ ।

उपभोक्ताले मोबाइलमा एप्स डाउनलोड गरेर आफूले बजारमा भोगेका समस्या राख्न सक्नेछन् । एप्सको उद्घाटन गर्दै मन्त्री यादवले उपभोक्ताको हक–अधिकार संरक्षण गर्न र विभागमार्फत जनताको कामलाई बाध्यकारी बनाउन एप्स महत्वपूर्ण भएको बताए ।

व्यवसायीहरुलाई पारदर्शी र जिम्मेवार बनाउँदै उपभोक्तामुखी बन्न र बजारलाई प्रतिस्पर्धी बनाउन एप्सले भूमिका खेल्ने उनको भनाइ थियो ।

उपभोक्ताबाट आएको गुनासो तथा उजुरीलाई तत्काल समाधान गर्ने गरी वाणिज्य विभागको एक इकाईले काम गर्ने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

प्रकाशित : २०७६ कार्तिक ८, शुक्रबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ