प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’


काठमाडौं, १४ कार्तिक । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज भएका छन् । बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै अस्पताल पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँचका क्रममा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अस्पतालमा रहँदा दुई पटक मिर्गौंलाको डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । बिहीबार अपराह्न पत्रकार सम्मेलन गरी अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालबाट डिस्चार्ज गरेको हो । अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य जाँचबारे कुनै पनि जानकारी नदिएको अस्पतालले बुधबार बेलुका प्रेस नोट जारी गर्दै आजसम्ममा डिस्चार्ज गर्ने जानकारी दिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौंलामा समस्या देखिएपछि डायलाइसिस गर्न समय लागेका कारण हिजो अस्पतालमै राखिएको थियो । अझै पनि अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच बारेको वास्तविकता खुलाएको छैन । बिहीबार साँझ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गर्दै अस्पतालले केही गोपनियताका कारण स्वास्थ्य जाँचबारे सबैकुरा सार्वजनिक गर्न नमिल्ने जनाएको थियो ।

पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले भने, ‘डायलाइसिस भनेको सामान्य हो, आत्तिहाल्नु पर्ने अवस्था होइन । तर, आम सर्वसाधारणले प्रधानमन्त्रीलाई किन डिस्चार्ज गरिएन ? अस्पतालले रिपोर्ट लुकायो भनेर उठाएका प्रश्न पनि जायज हो । हामी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेको गोपनियतालाई ख्याल गर्दै जानकारी दिनेछौं ।’

प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिन घटाउन हेमो डायलाइसिस गरिएको विषयमा जानकारी दिइए पनि डाक्टर पाण्डेले क्रियाटिनिनको मात्रा कति छ भनेर खुलाएनन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि अब सातामा दुई पटक डायलाइसिस गरिनुपर्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोतका अनुसार मिर्गौंला प्रत्यारोपण सम्भव नहुँदासम्म हप्तामा दुईपटक डायलासिस गरिने छ ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न आजै अस्पताल पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका थिए । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

प्रकाशित : २०७६ कार्तिक १४, बिहीबार १४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ