मेडिकल साइन्सका विद्यार्थी डर र त्रासबाबीच थाले आन्दोलन


भैरहवा, १७ कात्तिक । भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सका विद्यार्थी डर र त्रासकाबीच आन्दोलनमा उत्रिएका छन् । क्याम्पस प्रशासनले आन्दोलनमा गएको थाहा पाए कारवाही गर्ने डरले अनुहारमा माक्स लगाएर भैरहवाको बजारमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

क्याम्पसका विद्यार्थीका अनुसार क्याम्पस प्रशासनले आन्दोलनमा गएको थाहा पाए कडा कारवाही गर्ने समेत चेतावनी दिएको बताए । आन्दोलनमा उत्रिएका विद्यार्थी क्याम्पसको डरका कारण नाम पनि बताउन चाहँदैनन् । विगत केही दिनदेखि युनिभर्सल कलेज अफ मेडिकलसाइन्सले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

बिडिएस र एमबिबिएस पढ्ने प्रथम वर्षका विद्यार्थीहरु चार दिनदेखि कलेजको मुख्य गेटमा धर्नामा बसेकोमा आइतबार भैरहवाको मुख्य बजार क्षेत्र परिक्रमा गरि विरोध प्रदर्शन गरेका हुन् ।विद्यार्थीहरुले विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने, लिइएको अतिरिक्त शूल्क फिर्ता गर्नुपर्ने, त्रिविकोपरीक्षा फर्म शुल्क कायम गर्नुपर्ने, सम्पुर्ण विद्यार्थीलाई वार्षिक परिक्षामा समावेश गराउनु पर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने लगायतका माग राखेका छन् ।

सरकारले बिडिएसका लागि १९ लाख ३२ हजार र एमबिबिएसका लागि ४२ लाख ४५ हजार मूल्य निर्धारण गरेको छ । तर मेडिकल कलेजले त्यस बाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै मूल्यलिएको दावी गर्छ । विद्यार्थीहरुलाई इनटर्नशिप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ ।

गण्डकी मेडिकलकलेज र चितवन मेडिकल कलेजमा समेत अतिरिक्त रकम फिर्ता माग्दै तीन महिना देखि विद्यार्थी आन्दोलनमा छन् । आन्दोलनका कारण पोखरा र चितवनका विद्यार्थीहरुले वार्षिक परिक्षा फर्म भर्न पाएनन् । कात्तिक २० गतेदेखि त्रिभुवन विश्वविद्यालयले वार्षिक परिक्षा लिँदै छ । फर्म भर्न छुटेकालाई समेत परिक्षामा सहभागी गराउनुपर्ने माग विद्यार्थीहरुले गरेका छन् ।

प्रकाशित : २०७६ कार्तिक १७, आईतवार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ