महरा अदालतको आदेशमा डिल्लीबजार कारागार चलान


काठमाडौं, १८ कात्तिक । जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसपछि सोमबार उक्त आदेश दिइएको हो । गएको असोज १९ गते पक्राउ परेका महरा बिरामी भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा बस्दै आएका थिए ।

सोमबार अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ । आइतबार सरकारी वकिलको तर्फबाट चारजनाले बहस गरेका थिए भने महराको पक्षबाट भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका थिए ।

सोमबार महराको पक्षमा रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरे । महराको पक्षमा बहस चलिरहेका बेला पीडित भनिएकी महिला रोशनी शाही आफूले पनि अदालतमा धारणा राख्न पाउनुपर्ने भन्दै इजलासमा पुगेकी थिइन् ।

न्यायाधीशले रोशनीलाई बोल्न नदिएपछि उनी महराका सहयोगीहरुको गाडीमा फर्किएकी थिइन् । प्रहरीले दर्ता गरेको अभियोजनपत्रअनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्दासहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार १२:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ