जनकपुरधाम : कार्यक्रममा आएनन् सहभागी, आयोजकले भन्यो दुई नम्बरी !


जनकपुरधाम, २३ कार्तिक । प्रदेश २ लाई ‘दुई नम्बरी’ भनेर कतिपय अवस्थामा कुनै–कुनै व्यक्तिले होच्याउने गर्छन् । नाम अनुसारको काम गरिरहेको भनेर कुनै–कुनै समयमा प्रदेशका सरकार र अन्य क्षेत्रलाई आलोचना समेत खेप्नुपरिरहेको हुन्छ । तर, यो प्रदेशलाई औपचारिक रुपमै ‘दुई नम्बरी’ भनेर आलोचना गरिएको छ ।

शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा ‘दुई नम्बरी’ भनेर आलोचना गरिएको छ । र, यो आलोचना गर्ने मौका दिएका छन् प्रदेश सरकार, सभामुख र सांसदहरुले । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले शुक्रबार यहाँ प्रत्यायोजित विधायन र सरकारी आश्वासन सम्बन्धी अन्तरकृया तथा राष्ट्रिय महत्वका स्थल तथा दस्तावेजहरुको निगरानी कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रदेश २ का सभामुख सरोजकुमार यादव, उपसभामुख उपमा देव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, राज्य मन्त्री सरोजकुमार सिंह, अर्थ तथा योजना समितिका सभापति मनिष सुमनसहित सबै बिषयगत समितिका सभापति, प्रतिपक्षी दलका नेता, दलका सचेतकहरु, मुख्य न्यायाधिबक्तासहितका सरोकारबालालाई आमन्त्रणा गरिएको थियो ।

तर, कार्यक्रममा राष्ट्रिय जनता पार्टीका सचेतक परमेश्वर साह मात्रै कार्यक्रममा उपस्थित भए । आयोजकले झण्डै २० जनाको नाम आसन ग्रहणमै राखेको थियो । तर कार्यक्रममै कोहि आइदिएनन् । ‘साह्रै नरमाइलो लाग्यो’ राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले भने, “योसहित चार ठाउँमा यो कायृक्रम ग¥यौं, तर यस्तो अवस्था कतै आएन् ।”

यहाँको सभामुखज्यूलाई आफू स्वयं फोन गरेपनि नआएको गुनासो गरे उनले । ‘समिति सभापति र मन्त्री तथा सांसदहरुलाई प्रदेशसभाबाट खबर गरिएको रहेछ’ तर कोहि आएनन्’ उनले भने, “सबैभन्दा खल्लो यहीं भयो ।”

सरकारले ल्याउने विधेयक, बनाउने ऐन, निर्देशिकामा सांसदहरुले ध्यान पु-याउनुपर्ने सन्देश दिन आयोजना गरिएको कार्यक्रममा मुख्य सरोकारबालाहरु नआइदिएपछि केहि सांसदकैबीच कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रको समापन गर्ने बेलामा मन्तव्य व्यक्त गर्दै राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले प्रदेशप्रति नै कटाक्ष गरे । सहभागी नआएकोप्रति इंगित गर्दै उनले भने, “प्रदेशको नाम अनुसारको भूमिका देखियो ।”

समितिका सभापति बिडारीले पनि प्रदेशको नाम अनुसारको काम भएको बताए । उनले भने, “त्यसैले मान्छेलाई २ नम्बर प्रदेशलाई के–के भन्छ ।”

सभापति बिडारीले संघीय संसदले प्रदेशसभा सचिवालयलाइ कार्यक्रमबारे पत्र पठाएर फोनमा कुरा गरेको र प्रदेशसभाकै मिति र समय अनुसार आफूहरु कार्यक्रम गर्न यहाँ आएको भएपनि कसैले ध्यान नदिएको बताए । ‘यसमा मेरो केहि चित्त दुःखाई छैन’ उनले भने, “तर बिषयवस्तुबारे सबैले बुझ्दा राम्रो हुन्थ्यो ।”

सभापति बिडारीले कार्यक्रमको मुख्य व्यक्ति प्रदेशसभासालयका सचिव रंजित यादव आएपनि केहि बेरमै निक्लेको प्रति पनि दुःख व्यक्त गरेका थिए ।

प्रकाशित : २०७६ कार्तिक २३, शनिबार ०१:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ