कमला नदीमा भूत मेला ! स्नान गर्नेहरुको घुइँचो (हेर्नुस् फोटोहरु)


सिबेन्द्र रोहिता/ जनकपुरधाम, २६ कार्तिक । आजका दिन तराईका विभिन्न भाग र भारतको केही भागमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।

शनिबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्दा वर्षभरिको पापबाट मुक्ति पाइने जनविश्वास छ । खासगरी आजका दिन सर्वसाधारण जनता धामी झाँक्रीको सहयोगमा आफ्नो कुलदेवताको सिद्धि प्राप्त गर्न कमलामा स्नान गर्ने गर्छन् ।

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्र्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् । यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।

प्रकाशित : २०७६ कार्तिक २६, मंगलवार ०३:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ