बङ्गलादेशका राष्ट्रपति आज नेपाल आउँदै


काठमाडौं, २६ कार्तिक। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने भ्रमणका क्रममा आज अपरान्ह नेपाल आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भोली अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा भोली बेलुका राजकीय भोज आयोजना गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने बताइएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने बताइएको छ । नेपाल बसाइका क्रममा बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरिको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित : २०७६ कार्तिक २६, मंगलवार ०४:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ