आज फेरि अस्पताल जाँदै प्रधानमन्त्री ओली


काठमन्डौ, ३० कार्तिक । मृगौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी ओली थप उपचारका लागि आज फेरि अस्पताल जाँदैछन् ।

प्रधानमन्त्री ओली नियमित उपचारका लागि थापासीस्थित ग्राण्डी अस्पताल जाने भएका हुन् । ओलीको गत कात्तिक १२ र १३ मा मृगौलाको डायलाइसिस गराएका थिए । त्यसयता चिकित्सकले उनलाई धेरै सक्रिय नहुन र आराम गर्न सुझाए पनि ओली सक्रिय छन् । स्रोतका अनुसार ओलीको मृगौलामा राखिएको स्टेन्ट आज हटाइने भएको छ ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकले नियमित डाइलाइसिस वा पुनः मृगौला प्रत्यारोपणका लागि सुझाव दिँदै आएका छन् । ओली लामो र झण्झटिलो डायलाइसिस भन्दा अमेरिकामा पुनः प्रत्यारोपणको मनस्थिति बनाएका छन् ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यसिंह शाह उपचार प्रक्रियाबारे बुझ्न अमेरिका पुगेर फर्किइसकेकी छन् । ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेको छ ।

शरीरमा एण्टीबडीको मात्रा बढेपछि गत साउन र भदौमा प्रधानमन्त्रीले सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा एण्टीबडी नष्ट गराएका थिए ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार ०५:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ