विवाहपञ्चमीमा सरिक हुन भारतीयगृहमन्त्री र मुख्यमन्त्रीलाई पठाइयो निम्तो


जनकपुरधाम, १ मंसिर। यसपालीको विवाहपञ्चमीमा सरिक हुन भन्दै भारतीय गृहमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई निमन्त्रणा पठाइएको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा प्रत्येक बर्ष भव्यताका साथ विवाहपञ्चमी मनाइने गरिन्छ ।

भगवान राम र सिताको विवाह भएको दिनको स्मरणमा मनाइने विवाहपञ्चमीका दिन भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जन्तीको रुपमा भारतीयहरु आउने गर्छन् । गत बर्ष मात्रै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका थिए ।

‘यस पटक पनि मुख्यमन्त्री योगीसहित भारतका गृहमन्त्री एवं सत्तासिन भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित साहलाई समेत विवाह पञ्चमीको निमन्त्रणा पठाएका छौं’ जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले भने, “उहाँहरुलाई निमन्त्रणा पठाइएको जानकारी संघीय सरकारको पर्यटन मन्त्रालयलाई गराइसकेको छु ।”

उनले नेपाल सरकारले यसमा ध्यान दिए साह र यागी दुबै नेपाल आउने बताए । ‘यस्तो माहौलमा आउन उहाँहरु जहिल्यै पनि इच्छुक रहनुहुन्छ’ दासले भने, “नेपाल सरकारले आफ्नो तर्फबाट पहल गरे दुबै जना विवाह पञ्चमीमा आउनुहुन्छ ।”

यी दुईबाहेक भारतको अयोध्याका साधुसन्तहरुलाई पनि निमन्त्रणा पठाइएको दासको भनाई छ । दासका अनुसार भारतीय गृहमन्त्री, उत्तर प्रदेशका मुख्यमन्त्रीसहित विवाहपञ्चमीमा जनकपुर आउन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा दिइसकिएको छ ।

यस पटकको विवाहपञ्चमी मंसीर १५ गते परेको छ । तर विशिष्ट अतिथीहरुलाई १३ गते नै जनकपुर आउने गरी निमन्त्रणा पठाइएको दासले बताए । ‘१५ गते विवाहपञ्चमीका दिन सर्वसाधारणको अत्यधिक भींड हुन्छ’ उनले भने, “त्यसैले १३ गते नै मंचीय कार्यक्रमको आयोजना गर्दैछौं ।”

यस पटकको विवाहपञ्चमी महोत्सव सप्ताहव्यापी गतिविधी गर्दै मनाइँदैछ । महोत्सवको पहिलो दिन मंसिर १० गते मंंगलबार जनकपुरधाम नगर दर्शन, ११ गते बुधबार फूलबारी लीला, १२ गते बिहीबार धनुषयज्ञ (रंगभूमि), १३ गते शुक्रबार जानकी मन्दिर प्राङ्गणमा तिलकोत्सव, १४ गते शनिबार गंगासागर पोखरीघाटमा मटकोर, १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र अन्तिम दिन १६ गते अयोध्यावाट आएका जन्तीलाई बिदाई गरिने कार्यक्रम तय गरिएको छ ।

विवाहपञ्चमीको तयारी जोड्तोडले भइरहेको छ । मन्दिर प्राङ्गणमा शुरु गरिएको पंडाल निर्माणको लागि भारतको बिभिन्न ठाउँबाट पण्डाल सम्बन्धी कामदारहरुलाई बोलाइएको छ । आजको जनकपुर टुडे दैनिकमा यो खबर छापिएको छ ।

प्रकाशित : २०७६ मंसिर १, आईतवार ०२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ