प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध हाल्यो सर्वोच्चमा रिट, यस्तो छ कारण


जनकपुरधाम, २ मंसिर । प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । नेपाल सरकारले २०७६ असोज २७ गते जारी गरेको वन ऐन विरुद्ध प्रदेश २ को सरकारको तर्फबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमवार सर्वोच्च अदालतमा रिट मुद्दा दर्ता गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत बेचनकुमार महतोका अनुसार प्रदेश सरकारले मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासमा रिट दर्ता गराएको हो ।

ADVERTISEMENT

नेपाल सरकारले संविधानप्रदत्त अधिकारलाई हरण गरेर प्रदेशभित्रका राष्ट्रिय वनको संचालन, व्यस्थापन आदि कुनै कामसमेत गर्न नसक्ने प्रावधानसहित वन ऐन जारी गरेकाले मुद्दा दिइएको महतोले बताए ।

‘नेपालको संविधानको अनुसूची ९ मा प्रदेश भित्रका सम्पूर्ण राष्ट्रिय वनको संचालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भनेर संविधानमा प्रष्ट उल्लेख छ,’ महतोले भने, ‘तर, नेपाल सरकारले प्रदेश सरकारको त्यो संवैधानिक अधिकारविपरित उक्त ऐन ल्याएकोले रिट दिइएको हो ।’

प्रदेश अन्तर्गतका डिभिजन वन प्रमुखलाई प्रदेश सरकारले नै संचालन गर्ने भन्ने प्राप्त अधिकार विपरित नेपाल सरकारले नै ती डिभिजन प्रमुखको नियुक्ति, संचालन तथा व्यवस्थापन गर्ने भनेर ल्याइएको ऐन विपरित रिट दायर गरिएको उनले बताए ।

– अजय अनुरागी/लोकान्तर

प्रकाशित : २०७६ मंसिर २, सोमबार १३:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ