वडा कार्यालयको व्यवस्था मिलाउन मेयरसँग वडाध्यक्षको माग


जनकपुरधाम, ४ मंसिर । धनुषाको सबैला नगरपालिका ५ का वडाध्यक्ष देबेन्द्र प्रसाद यादब नेतृत्वमा एक समूह नगरपालिकाको कार्यालय पुगेर मेयर विजय शंकर साहसँग वडा कार्यालय व्यवस्थापन गर्न माग गरेका छन् ।

वडा कार्यालयको भवन नहुँदा आफ्नो घरमा राख्नु परेको भन्दै कार्यालयको व्यवस्थापन मिलाउन मेयर साहसँग वडाध्यक्ष यादबले माग गरेका हुन् । आफ्नो नीजि घरको दुई कोठामा वडा कार्यालय राख्दा विपक्षीले बदनाम गर्न खोजेको वडाध्यक्ष यादबको गुनासो छ ।

उनले मेयर साहसँग भने, ‘वडा कार्यालयको भवन छैन । कहाँ कार्यालय संचालन गर्ने ? आफ्नो घरमा राखेपनि विपक्षीले बदनाम गर्न खोज्यो । अब छिटो कार्यालय कहाँ राख्ने व्यवस्था गरिदिनु पर्यो ।’ वडाध्यक्ष यादबसँगै मेयर समक्ष पुगेका स्थानीयले समेत वडा कार्यालयको व्यवस्था मिलाउन माग गरेका थिए ।

यता, मेयर साहले उक्त वडामा सार्वजनिक भवन बनेको र त्यसमै माथि एक तल्ला थपेर वडा कार्यालय बनाउन सकिने बताए । उनले तत्काल घरमै कार्यालय संचालन गर्न समेत भनेका छन् । चालु आर्थिक वर्षमै सार्वजनिक भवनमा एक तल्ला माथि थपेपछि मात्र वडा कार्यालय सार्न उनले सुझाव दिए ।

वडाध्यक्ष यादबले वडासचिव सधैं कार्यालय आउने गरेपनि विपक्षीहरुले बदनाम गर्न अनेक खालका आरोप लगाउदा दुःख लागेको बताए । उनले भने, ‘वडा कार्यालय छैन । जनतालाई समस्या नहोस् भनेर घरमा संचालन गरेको छु । तर उल्टै केहि विपक्षीले बदनाम गर्ने प्रयास गरेको छ ।’ विपक्षीले जति बदनाम गर्न खोजेपनि जनतालाई समस्या हुन नदिने उनको भनाई छ ।

प्रकाशित : २०७६ मंसिर ४, बुधबार ०२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ