नवनियुक्त मन्त्रीले लिए शपथ


काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले बिहीबार पद तथा गोपनियातको शपथ लिएकाछन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनुभएको हो । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराउनुभएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार त्यसको भोलिपल्ट शपथ गराइएको छ । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।

शपथ लिने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ रहनुभएको छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रपतिसमक्ष शपथ लिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रीहरूको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यवभाजन गर्नुभएको थियो ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ