पिपराका प्रतिस्पर्धी उम्मेदबारहरुको प्रमुख एजेन्डा– अस्पताल संचालन


महोत्तरी, ६ मंसिर । महोत्तरीको पिपरा गाउँपालिकामा आगामी मंसीर १४ गते उप निर्वाचन हुँदैछ । अहिले उम्मेदबारहरु आ–आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् । चुनावी सभाको आयोजना गर्नुका साथै उम्मेदबारहरु घर दैलोमा सकृय छन् ।

आ–आफ्ना पार्टीका उम्मेदबारलाई जिताउन भन्दै केहि पार्टीका नेताहरु आएर चुनावी सभामा भाषण दिएका छन् । नेपाली कांग्रेस, समाजवादी र जनमत पार्टीका केन्द्रीय नेताहरु पिपरा आएर चुनावी सभामा सहभागिता जनाइसकेका छन् ।

कांग्रेसका उपसभापति बिमलेन्द्र निधी, प्रबक्ता विश्वप्रकाश शर्मा, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पिपरा बजारमा आएर आफ्ना उम्मेदबारलाई जिताउन जनतासँग आग्रह गरेका छन् । अन्य पार्टीका नेताहरु आउने क्रममा रहेका छन् ।

पिपराको उप निर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको बिषय बनाउँदै आफ्ना पार्टीलाई निर्वाचित गराउन भरपूर प्रयासमा लागेका छन् । बुधबार कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उप सभापति बिमलेन्द्र निधीले आफू यो गाउँपालिकामा पहिलो पटक मत माग्न आएको बताए । ‘अरु नेता आएका होलान् म पहिलो पटक मत माग्न आएको छु’ उनले भने, “तपाईंहरु मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले पनि आफ्नो पार्टीका उम्मेदबारलाई जिताए यो गाउँपालिकालाई नमूना बनाइदिने उद्घोष गरे । यो प्रदेशमा आफ्नै पार्टीका सरकार भएकाले यहाँ हरेक किसिमको सहयोग प्राप्त ह्ुने उनले विश्वास दिलाए ।

केन्द्रीय नेताहरुले आ–आफ्ना उम्मेदबारलाई जिताउन जनतासँग आग्रह गरिरहँदा उम्मेदबारहरुले भने समान एजेन्डा बोकेका छन् । मुख्य प्रतिस्पर्धी उम्मेदबारहरुले अन्य एजेन्डाभन्दा पिपरा गाउँपलिकामा निर्माण भएको अस्पताल संचालन गर्ने आश्वासन दिइरहेका छन् । बिहीबार पिपरा बजार आसपास घरदैलो गरेका मुख्य प्रतिस्पर्धी उम्मेदबारहरुले जित्नेवित्तिकै अस्पताललाई सुचारु गराउने प्रतिबद्वता व्यक्त गरिरहेका थिए ।

पिपरा गाउँपालिकामा १५ शैय्या अस्पतालको भवन बन्दा समेत संचालनमा आउन सकेको छ्रैन् । उम्मेदबारहरुले यही अस्पताललाई प्रमुख एजेन्डाको रुपमा अघि सारेका छन् । ‘जित्नेवित्तिकै अस्पताललाई २४ औं घण्टा सेवा दिने गरी संचालनमा ल्याउँछौं’ समाजवादी पार्टीका उम्मेदबार रामजानकी यादवले भने, “यसबाहेक शिक्षा र सिंचाईको क्षेत्रलाई राम्रो बनाएर जनतालाई सेवा दिन्छौं ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदबार बिक्रम चौधरीले पनि आफ्नो १६ बुँदे प्रतिबद्वता पत्रको पहिलो नम्बरमा अस्पताललाई नै राखेका छन् । ‘अस्पताललाई तत्कालै संचालनमा ल्याउँछु’ उनले भने, “पिपराबाट जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा पनि सुचारु गराउनेछु ।”

राष्ट्रिय जनता पार्टीबाट अध्यक्षमा निर्वाचित बिनोद चौधरीको गत बैशाखमा निधन भएपछि हुन लागेको उप निर्वाचनमा स्वर्गीय चौधरीकै पत्नी रबिता चौधरीलाई राजपाले उम्मेदबार बनाएको छ । बिहीबार साँझ पिपरा गाउँपालिकाको चोहर्बामा घरदैलो गरिरहेकै रबिताले पनि अस्पताल सुचारु गर्ने बताए । ‘मेरो पति अध्यक्षमा निर्वाचित भए लगत्तै अस्पताललाई संचालन गर्ने कार्ययोजना बनाउनुभएको थियो । म त्यसलाई पूर्णता दिन चाहन्छु’ उनले भनिन् ।”

कांग्रेसबाट उम्मेदबार बनेका विजय कुमार यादवले पनि अस्पताल संचालनलाई नै प्राथमिकतामा राखेर चुनावी प्रचार प्रसार अभियान शुरु गरेका छन् । उनले समेत भने, “अध्यक्षमा जितेपछि अस्पताल अबिलम्ब सुचारु गराउँछु ।”

प्रकाशित : २०७६ मंसिर ६, शुक्रबार ०९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ