महोत्तरीको पिपरामा उपनिर्वाचन : प्रचार सामग्रीले ‘रंगीन’ बन्यो गाउँ


महोत्तरी, ७ मंसिर । महोत्तरीको पिपरा गाउँपालिका प्रवेश गर्नेवित्तिकै अर्कै माहौल देख्न सकिन्छ । केहि दिनअघिसम्म अन्य ठाउँजस्तै देखिने यो गाउँपालिकामा अहिले पुरै रंगीन बनेको छ । जताततै पोष्टर, पम्पलेट, तुल, व्यानर झुण्ड्याइएका कारण पिपरा गाउँपालिका ‘रंगीन’ झैं बनेको हो ।

यो गाउँपालिकामा आगामी मंसीर १४ गते अध्यक्ष पदका लागि उप निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि २० जनाले उम्मेदबारी दिएका छन् । उम्मेदबारहरुले आफ्नो प्रचार–प्रसार गर्न रंगीचंगी पर्चा, पम्पलेटको प्रयोग गरेका छन् ।

व्यक्तिको घरदेखि, चोक चौराहा, पोल र सार्वजनिक स्थानहरुमा समेत उम्मेदबारहरुले प्रचार–प्रसारको सामग्री टाँगेका छन् । कतिपय ठाउँमा तुल र ब्यानर बाँसमा गाडेर रुख झैं सजाइएको छ । एकै ठाउँमा बिभिन्न पार्टीबाट उम्मेदबारी दिएकाहरुले आ–आफ्नो तुल र ब्यानर झुण्ड्याएका छन् भने पर्चा, पम्पलेटले पिपरा बजार रंगीन बनेको छ । पिपरा बजारको हरेक पसल, रुखहरुमा पर्चा पम्पलेट टाँसिएको छ ।

स्थानीयहरुका अनुसार पर्चा, पम्पलेट र तुल, ब्यानर टाँस्न उम्मेदबारहरुबीच प्रतिस्पर्धा चलेको छ । उम्मेदबारहरु घरदैलो गर्न जाँदा पनि अघिपछि झण्डा र प्रचार सामग्री बोकेका कार्यकर्ताहरु रहने गरेका छन् ।

कार्यकर्ताहरुले उम्मेदबारले घरदैलो गरी मत मागेवित्तिकै प्रचार सामग्री मतदाताको हातमा थमाउने गरेका छन् । उम्मेदबारहरुले प्रचार प्रसारमै लाखौं खर्च गरेको टाँसिएको प्रचार सामग्रीहरुबाट देखिन्छ ।

पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदबारी दिएका नेताहरुले चार चक्का गाडीको अत्यधिक प्रयोग गरिरहेका छन् । एक जना उम्मेदबारले ४ देखि ६ वटासम्म गाडीको प्रयोग गरिरहेको स्थानीयहरुले बताएका छन् । प्रचार–प्रसारका लागि हिंड्दा होस् या घरदैलो गर्न जाँदा उम्मेदबारहरु चार चक्काकै प्रयोग गरिरहेका छन् ।

अधिकांस उम्मेदबारले भारतबाट चार चक्का गाडी भाडामा मगाएका छन् । स्कारपियो र टाटा सुमो उनीहरुले भाडामा लिएर प्रयोग गरिरहेको स्थानीयहरुको भनाई छ ।

पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिक्रम चौधरी, नेपाली कांग्रेसबाट विजय कुमार यादव, समाजवादीबाट रामजानकी यादव, राष्ट्रिय जनता पार्टी (राजपा) बाट रबिता चौधरीसहितकाले उम्मेदबारी दिएका छन् ।

प्रकाशित : २०७६ मंसिर ७, शनिबार ०१:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ