कडा सुरक्षाका बीच उपनिर्वाचन सुरु, मतदानमा सहभागी हुन आग्रह


काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि बिहान ७ बजेदेखि उपनिर्वाचन सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपनिर्वाचन हुँदै छ । प्रदेशअन्तर्गत दाङ ३ (ख), बागलुङ २ (ख) र भक्तपुर १ (ख) मा मतदान हुन लागेको छ । यस्तै एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदै छ ।

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले आह्वान गरेका छन् ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकिकृत सुरक्षा योजना बनाइएको छ। उपनिर्वाचनका लागि ३२ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेना रहनेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि कूल ५ हजार ५३२ कर्मचारी खटाइएको छ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित : २०७६ मंसिर १४, शनिबार ०१:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ