मलेसियाले माग्यो ३१ हजार बढी नेपाली कामदार


काठमाडौं, १७ मंसिर । मलेसियाले दुई महिनाको अवधिमा ३१ हजार २ सय १ जना नेपाली कामदार मागेको छ। अक्टोबर र नोभेम्बर महिनामा ती कामदारको माग भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र बमोजिम क्वालालम्पुरस्थित नेपाली दूतावासले गत अक्टोबर महिनाको पहिलो साताबाट मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणिकरण भई आएका मागपत्रहरू अभिलेखिकरण गरी वैदेशिक रोजगार विभागलाई सिफारिस गर्दै आएको छ।

दूतावासले दुई महिनाको अवधिमा ९ सय ६३ वटा मागपत्र फाइल आएको र त्यसमा ३१ हजार २ सय १ नेपाली कामदारको माग गरिएको छ ।

मलेसियाले मागेको नेपाली कामदारमध्ये १७ हजार १ सय १६ जना औद्योगिक क्षेत्र, १० हजार १ सय ८१ जना सेवा क्षेत्र ९सेक्युरिटी गार्ड सहित०, १ हजार ४ सय ७५ जना कृषि क्षेत्र, १ हजार ३ सय ९७ जना प्लाण्टेसन र १ हजार ३० जना निर्माण क्षेत्रको लागि रहेको छ।

वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम दूतावासमा प्रमाणिकरणको लागि पेस भएका मागपत्रहरू १० दिन भित्र प्रमाणिकरण गर्नु पर्ने हुन्छ।

व्यवसायी तथा नेपाली कामदारको हितलाई ध्यानमा राखी दूतावासले मलेसियाको गृह मन्त्रालयबाट जारी भएको विदेशी श्रमिक नियुक्त गर्ने कोटाको १५ दिन सम्मको वैधानिकता भएको मागपत्रहरू स्वीकार गर्ने र जुन मागपत्रको एक महिना भन्दा कम छ, सो मागपत्रको प्रमाणिकरण सम्भव भएसम्म पेस भएकै दिन प्रमाणिकरण गर्ने व्यवस्था समेत गरेको छ।

‘यसैगरी गतवर्ष नै दूतावासबाट प्रमाणिकरण भएको भएतापनि सो अनुसार कामदारको आपूर्ति नगरी नयाँ व्यवस्था अनुसार प्रमाणिकरणको लागि पुनः पेस भई आएका मागपत्रहरूको पनि सम्भव भएसम्म एकै दिनमा प्रमाणिकरण हुने व्यवस्था गरिएको छ,’ मलेसियास्थित नेपाली दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।

  • नेपालन्युज
प्रकाशित : २०७६ मंसिर १७, मंगलवार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ